‘आदिपुरुष’ रोकाउन लबिम मलअगाडि धर्ना
भारतीय चलचित्र ‘आदिपुरुष’ को विवादित अंश नसच्याईएसम्म नेपाली सिनेमा हलमा प्रदर्शन हुन नदिने भन्दै ललितपुरमा विरोध प्रदर्शन भएको छ । आजदेखि नेपाली सिनेमा हलमा प्रदर्शन गर्न लागिएको फिल्मको केही अंश नसच्चाईएसम्म ललितपुरको कुनै पनि हलमा सञ्चालन गर्न नदिने भन्दै पुल्चोकमा आन्दोलन गरिएको हो ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका ललितपुर जिल्ला अध्यक्ष सरोज महर्जनसहित एक दर्जनको टोलीले लबिम मलको ‘क्युएफएक्स’ सिनेमा अगाडि पम्प्लेट बोकेर चर्को नाराबाजी गरेको छ । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित अंशलाई नसच्चाएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने भनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हिजो चेतावनी दिएका थिए ।
उनको चेतावनीपछि क्यूएफएक्स, आइएनआई,बिग मुभिज,वान सिनेमाजसहित अन्य मल्टिप्लेक्सले बिहानी शो स्थगित गरेका छन् । चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’ को बिहानी शो रोक्न निर्देशन दिएको छ ।
टिप्पणीहरू