प्याजमा कालोबजारी गरे कारबाही
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा बजारमा अस्वाभाविक रुपले मूल्य बढाएको भन्दै विभागले यस्तो चेतावनी दिएको हो ।
अनुगमनको क्रममा कानूनले तोकिदिएको दायित्व पूरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कारबाही गर्ने विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘केही दिनदेखि बजारमा प्याजको मूल्य अत्याधिक वृद्धि भएको भनी पत्रपत्रिकाहरुमा प्रकाशित समाचार एंव यस विभागमा आएका गुनासोप्रति विभागको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन, अनुगमन गरिरहेकाले अनुगमनको क्रममा कानूनले तोकिदिएको दायित्व पूरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कारबाही भैजाने जानकारी गराइन्छ ।’
विभागले उपभोक्ताको दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आबद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्जयकर्ता तथा बिक्रेता सबैले उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकिदिएको दायित्व बहन गर्दै पारदर्शी तवरबाट आआफ्नो व्यवसाय सञ्चालन गर्न कानूनबमोजिम बिलबिजक जारी गरी कारोबार गर्न समेत सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
टिप्पणीहरू