भाटभटेनीका साहुजी मीनबहादुरको गिरफ्तारीबारे पत्रकार सम्मेलन
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले आज दिउँसो उनकै निवासबाट पक्रेको छ । गुरुङलाई ललिता निवास प्रकरणमा अनुसन्धानका लागि समातिएको जनाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भाटभटेनी मन्दिरसँगैको पहिलो भाटभटेनी डिपार्टमेन्टल स्टोरको हातामा रहेको निवासबाट पक्राउ गरेको हो । उनलाई पक्रेलगत्तै विभिन्न स्थानबाट सोही प्रकरणमा मुछिएका अन्य छ जनालाई पनि समातिएको छ ।
सस्तो मूल्यमा किनिएको ललिता निवास वरपरको २९९ रोपनी ३ आना जग्गामध्ये गुरुङले २९ रोपनी ३ आना लिएका थिए । उक्त स्थानमा भाटभटेनीको केन्द्रीय गोदाम बनाइएको छ । त्यहाँबाट नेपालभरका भाटभटेनी स्टोरमा सामान वितरण गरिन्छ । सोही २९ रोपनी जग्गा र आज पक्राउ परेका सात जनाबारे भोलि सिआईबीले पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रहरीको उच्च स्रोतले बताएको छ ।
गुरुङमाथि भूमाफियाहरुसँग मिलेर ललिता निवासको जमिन सस्तोमा किनेको,केही जग्गा प्लटिङ गर्दै बेचेको आरोप लागेको छ । गुरुङलाई यसअघि विशेष अदालतले दुई करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुध्द ५० करोड ४७ लाख रुपैयाँको बिगो दाबी गर्दै विशेष अदालतमा दायर गरेको मुद्दामा उक्त आदेश भएको हो ।
आजै निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाह पनि पक्राउ परेका छन् । मीनबहादुर समातिएपछि मालपोत कार्यालय,डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालगायत कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम,गोपाल कार्की र भुपेन्द्रमणि केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछि निर्वाचन आयुक्त बने पनि शाह कुनै बेला मालपोत कार्यालय भक्तपुरमा कार्यरत थिए ।
टिप्पणीहरू