सीआईबीको पत्रकार सम्मेलनपछि मीनबहादुरहरूलाई अदालत पुर्याइयो
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा हिजो पक्राउ परेका चार जनालाई म्याद थपका लागि काठमाडौैं जिल्ला अदालत लगिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई अदालत पुर्याएको हो । उनीहरुलाई अनुसन्धानको निम्ति म्याद थप गर्न अदालत लगिएको बताइएको छ । अदालतअघि बबरमहलमा रहेको सरकारी वकिलको कार्यालयमा पुर्याइएको थियो ।
हिजो पक्राउ परेका अन्य तीन जनालाई हिजै साँझ छाडिएको थियो । उनीहरुलाई पक्राउ नगर्न यसअघि अदालतले दिएको अन्तरिम आदेशका कारण छाड्नुपरेको प्रहरीले जानकारी दिएको थियो ।
आज पत्रकार सम्मेलनमा सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिको नाममा हड्पेको देखिन आएकाले थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनु परेको बताइएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले पछिल्ला ३३ वर्षमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको विवरण दिएका छन् ।
सीआईबी प्रमुख तथा एआईजी किरण वज्राचार्यले प्रकरण नयाँ मुलुकी ऐन आउनुभन्दा अघिको भएकाले अहिलेको कानुन आकर्षित नहुने बताइन् । उनले भनिन्, ‘मुद्दा दर्ता हुने, प्रक्रिया अघि बढ्ने र कारवाही हुनेमा प्रहरीसँग प्रशस्त प्रमाण छ ।’
टिप्पणीहरू