डन बाहुनको विज्ञप्ति : मेरो कुनै संलग्नता छैन
डनको रुपमा चिनिएका रमेश बाहुन अर्थात् सुजन पौडेलले आफु जेलबाट निस्किएपछि सामान्य र सामाजिक जीवनमा फर्किन खोजिरहेको भन्दै जेलभित्रका कुकृत्यमा आफूलाई नमुछ्न आग्रह गरेका छन् ।
कारागारभित्रका नाइके, भाइनाइके तथा चौकीदारहरु छान्ने काममा आफ्नो संलग्नता रहेको समाचारप्रति उनले उक्त आग्रह गरेका हुन् । विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘त्यसमा मेरो कुनै संलग्नता छैन ।’
गुण्डा नाइके बाहुन २०७१ असार १० गते काठमाडौंको कलंकीबाट २८.४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए । लागूऔषध मुद्दामा दोषी ठहर भएपछि काठमाडौं जिल्ला अदालतले उनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
त्यसअघि पनि पटक–पटक गुण्डागर्दीको आरोपमा पक्राउ परेपनि छुट्दै आएका थिए । २०७० माघ ८ गते ठेक्कापट्टाको कमिसन विवादमा बाहुन र दिनेश अधिकारी ‘चरी’ को निर्देशनमा ललितपुरका काँग्रेस महासमिति सदस्य मीनकृष्ण महर्जनमाथि गोली प्रहार भएको थियो ।
प्रहरीले बाहुनलाई त्यतिबेला महर्जनमाथि गोली प्रहार गरेको आरोपमा समातेपनि पछि छुटेका थिए ।
टिप्पणीहरू