शशी भवनमा फास्टट्र्याकको फाइल खोल्न ३ घण्टे सरगर्मी

शशी भवनमा फास्टट्र्याकको फाइल खोल्न ३ घण्टे सरगर्मी

नेपाली सेनाका एक जना मेजरले विवादास्पद अभिव्यक्ति दिएका छन् । हाल रक्षा मन्त्रालयमा कार्यरत मेजर सुदिप अर्यालले ठाउँ कुठाउँ प्रभुराम शर्माको नागरिकतामा उमेर सच्याएर आफूले चिफ बन्ने बाटो खोलिदिएको बताउँदै हिँडेपछि जंगी अड्डाभित्र तरंग उत्पन्न भएको छ ।

उनै मेजरले युएईको दुबईमा चिफ र जर्नेलहरुको बैंक खाता आफैँले खोलिदिएको,उनीहरुको खाता बेला बेलामा त्यहाँ पुगेर मेन्टेन गर्ने गरेको समेत बताएपछि अर्को सनसनी मच्चिएको छ । अर्यालको नियमित दुबई आउजाउले उक्त भनाईलाई पर्याप्त आधार दिएको स्रोतको दाबी छ । 

"आज बिहान उनै अर्यालले आर्मी चिफ शर्मासँग तीन घण्टा भेट गरेको उच्च स्रोतले बतायो । भेटमा केही चिनियाँ नागरिक पनि रहेको बुझिएको छ ।"

उनै अर्यालले युक्रेन युध्द भएपछि नेपाली सेनाले खरिद गर्न लागेको एमआई १७ हेलिकोप्टर रुसबाट ल्याउने प्रपञ्च रच्दै आफूले सबै मिलाउने बताएका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छोरोसँगको सम्बन्धलाई देखाउँदै उनले हेलिकोप्टर खरिदमा बिचौलियाको भूमिका निभाउन प्रयास गरेका थिए । तर, परिस्थितिले साथ नदिएपछि उनी हच्किए ।

सोही हेलिकोप्टर भित्र्याउने भन्दै अर्का बिचौलिया दिपक भट्ट लागिपरे । भट्टले रुसी हेलिकोप्टर कम्पनीका प्रतिनिधिलाई काठमाडौंमा बोलाए  । तर,उनको विवादास्पद विगतलाई हेर्दै जंगी अड्डाको शीर्ष नेतृत्वले ग्रीन सिग्नल नदिँदा रुसी प्रतिनिधिहरुलाई हेडक्वार्टरमा प्रवेश दिइएन ।

राजधानीका आलिशान अपार्टमेन्टमा भाडाका महिलालाई राखेर सैनिक उच्च अधिकृतहरुलाई रमाइलो गराउनेमा अर्याल र सिभिलियन दीपक रेग्मीको भूमिका पनि बढ्दै गएपछि उक्त विषय एक कान दुई कान मैदान भएको बताइन्छ । आज बिहान उनै अर्यालले आर्मी चिफ शर्मासँग तीन घण्टा भेट गरेको उच्च स्रोतले बतायो ।

भेटमा केही चिनियाँ नागरिक पनि रहेको बुझिएको छ । काठमाडौं–निजगढ द्रुत मार्गको तीन वटा प्याकेज ठेक्कामा लगाउन आजको भेट भएको बताइन्छ । उनै अर्यालले ३२ करोडमा प्याकेज डिल भएको अन्य ठेकेदारहरुलाई जानकारी गराएपछि बिहानको जंगी अड्डाको सहमति बाहिर आएको हो ।

उक्त ठेक्काबारे हालै पत्रिकामा सूचना प्रकाशित भएको थियो । सेनाले सहायक रथी नारायण सिलवाललाई प्रवक्ताबाट झिकेर सोही फास्ट ट्र्याक परियोजनाको जिम्मेवारी दिएको छ ।

टिप्पणीहरू