मीटरब्याज पीडितलाई निराश हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता

मीटरब्याज पीडितलाई निराश हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेपछि मीटरब्याजसम्बन्धी विधेयक पारित नहुँदा न्यायको आशमा रहेका पीडितहरु मर्कामा परेका छन् । 

देशभरका मीटरब्याज पीडितहरु काठमाडौंमा भएको आन्दोलनमा सहभागी हुन थालेपछि अध्यादेश ल्याएर समस्या समाधानको प्रयास थालेको सरकारले संसदमा प्रतिस्थापन विधेयक दर्ता गराएको थियो । मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न ल्याइएको उक्त विधेयक ६० दिनभित्र संसद्बाट पारित भइसक्नुथ्र्यो । विधेयक पारित गर्ने तयारीका साथ हिजो प्रतिनिधिसभामा कार्यसूची निर्धारण भएको पनि हो । तर, प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेसहितका प्रतिपक्षी दलहरुले संसदमा नाराबाजी गरेपछि विधेयक पारित हुन सकेन । 

सोही कारण मीटरब्याजसम्बन्धी समस्या समाधानको सरकारी प्रयास अलपत्र परेको छ । संसद अवरुद्ध पारेर प्रतिपक्षीहरुले विधेयक पारित गर्न रोकेकोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुःखेसो पोख्नुभएको छ । पीडितलाई न्याय दिलाउने अभियानलाई असफल पारिएको भन्दै उहाँले सामाजिक सञ्जालबाट दुःख व्यक्त गर्नुभएको हो । 

‘आज म धेरै आहात भएको छु । आज प्रतिनिधिसभाबाट मीटरब्याजसम्बन्धी विधेयक पारित हुनुपथ्र्यो । तर गरिएन । आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ’, उहाँले भन्नुभएको छ ।

गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय दिलाई छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । अभियान सम्पन्न नभएसम्म बिश्राम नलिने उद्ध्घोस गर्नुभएका उहाँ भन्नुहुन्छ, ‘तर, सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ । पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरुले सोचेका छन् भने त्यो ठूलो भ्रम हो । पीडितलाई न्याय नदिलाई विश्राम लिइने छैन ।’

मीटरब्याज समस्या समाधानका लागि गठित जाँचबुझ आयोगको काम नरोकिने पनि गृहमन्त्रीको भनाई छ । यसमा जिल्ला प्रशासन कार्यालयको सहजीकरण समितिले निरन्तर काम गरिरहने पनि उहाँले प्रष्ट्याउनु भएको छ । 

‘विधेयक संसदको प्रक्रियामा छ, अघि बढाइनेछ र कानुन  बनाइछाडिनेछ’, गृहमन्त्रीले भन्नुभएको छ, ‘तसर्थ पीडितहरुलाई निराश नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र विजय सुनिश्चित छ ।’
 

टिप्पणीहरू