प्रशासकीय अधिकृत कुट्ने वडाध्यक्षलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
गत असार १४ गते सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि वडा नम्बर २ का वडाध्यक्ष दौलन कार्कीले हातपात गरेका थिए । सो घटनाप्रति आपत्ति जनाउँदै मन्त्रालयले कारबाहीका लागि गृहलाई पत्राचार गरेको हो ।
पत्रमा स्थानीय तहमा कार्यरत कर्मचारीमाथि एकपछि अर्को आक्रमण भई रहँदा कर्मचारीहरुमा भय र त्रास पैदा भई सुशासन र सेवा प्रवाहमा नकरात्मक असर परेको उल्लेख गर्दै उक्त घटनामा संलग्न व्यक्ति, समूह र पक्षलाई कानूनबमोजिम कारबाही गर्न आग्रह गरिएको छ ।
साथै, मुलुकभरका कर्मचारीहरुले आत्मसम्मान, आत्मविश्वास एवम् उच्च मनोबलका साथ सेवा प्रवाह गर्दै देशको दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्नका लागि आवश्यक सुरक्षा प्रत्याभूति तथा शान्तिपूर्ण कार्य वातावरण निर्माण गरिदिन पनि मन्त्रालयले गृहसमक्ष अनुरोध गरेको छ ।
टिप्पणीहरू