छोरो पाउनु कहिले कहिले भोटो सिइयो पहिले

छोरो पाउनु कहिले कहिले भोटो सिइयो पहिले

अस्ति शुक्रवारबाट बल्ल फिल्म रिलिज भयो तर त्यसभन्दा पहिला पोष्टरै हेरेको भरमा जुरीले एक जनालाई उत्कृष्ट नायिकाको उपाधि दिएपछि बबाल छ । 

निर्देशक माधवराज खरेल संयोजक रहेको निर्णायक कमिटीले रिलिज हुनै बाँकी रहेको बगान फिल्मकी नायिकालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड बाँडेको छ । कमिटीमा चलचित्र पत्रकारद्वय विजयरत्न तुलाधर, विष्णु सुवेदी, लोकगायक कुलेन्द्र विश्वकर्मा, गायक शिव परियार, मेकअप आर्टिस्ट विक्रम गौतम, सञ्चारकर्मी दीर्घराज उपाध्याय, सञ्चारकर्मी कमलनाथ अधिकारी र फिल्म अर्काइभिष्ट चिरञ्जीवी गुरागाईं थिए जसले अस्ति २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र बगानकी नायिका प्रमिला कार्कीलाई उत्कृष्ट को अवार्ड बाँडेको हो । 

उनले डेब्यु गरेको फिल्म भने प्रदर्शन हुनै बाँकी छ । जुरीहरूले पोष्टर हेरेकै आधारमा उत्कृष्ट नायिकाको अवार्ड बाँडिदिएपछि स्वयं ‘लज्जासमेत लाजले पानी पानी’ हुन पुगेको चर्चा । सरोज खनालले निर्देशन गरेको उक्त सिनेमामा प्रमिला र करिष्मा मानन्धर मुख्य भूमिकामा देखिन्छन् । करिष्मा विधवा महिलाको भूमिकामा देखिँदै छिन्, बगानमा सरोज खनाल, आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मालगायतको अभिनय देख्न पाइन्छ । सुरेश वाग्ले निर्माता रहेको बगानकी नायिकाले अनुप बरालसँग अभिनय सिकेकी हुन् । यसअघि टेलिभिजनको भिजे हुँदै केही म्युजिक भिडियोमा अभिनय गरेकी प्रमिलालाई अवार्ड बाँडिएको हो, अस्ति जमलस्थित राष्ट्रिय नाचघरमा । पूर्वउपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेको पाम नेपाल फिल्म फेस्टिभलमा हो यस्तो गाईजात्रा भएको । 

बगानको गीत, टिजर र ट्रेलर मात्रै सार्वजनिक भएको छ । पूरा फिल्म रिलिज हुनै बाँकी छ, पोष्टर र ट्रेलर हेरेरै जुरीहरूले अवार्ड बाँडेपछि अहिले सामाजिक सञ्जाल मज्जाले तातेको छ । आर्यन सिग्देलले डिसेम्बर फल्सबाट उत्कृष्ट अभिनेताको अवार्ड थाप्दा पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दले दीर्घसाधना सम्मान हात पारिन् भने सम्राट बस्नेतले लाखेबाट उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड पाए ।

टिप्पणीहरू