गुप्तचरहरु असन्तुष्ट, प्रधानमन्त्री कार्यालय बेखबर
राज्यका पदाधिकारीहरुले पाउने सेवा सुविधालाई कानूनले नै व्यवस्थित गरेको छ । तर पनि कतिपय पदाधिकारीले मनोमानी ढङ्ले सेवा सुविधा प्रयोग गरेको देखिन आएको छ । प्रचलित कानुनमा प्रधानमन्त्रीलाई दुई वटा सम्म गाडी सुविधा दिइने उल्लेख छ ।
मन्त्री,सचिव सरहका पदाधिकारीले भने नियमले एउटा मात्रै गाडी सुविधा लिनुपर्ने हुन्छ । कोरोना संक्रमण,रुस युक्रेन युद्धजस्ता वाह्य कारण,राजश्व चुहावट, भ्रष्टाचार,चालु खर्चको अत्यधिक बृद्धि, प्रशासनिक खर्चको उच्च भार,महङ्गो संघीय प्रणालीजस्ता आन्तरिक कारणबाट थला परेको मुलुकको अर्थतन्त्रको नाजुक अवस्थाबीच सरकारी अधिकारीहरुको सुविधा मोह टिठलाग्दो बन्दै गएको छ ।
सचिव सरह रहने नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले पनि नियमानुसार एउटा मात्रै गाडी सुविधा पाउने व्यवस्था छ । सोही व्यवस्थाको धज्जी उडाउँदै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले आधा दर्जन बढी गाडी प्रयोग गरिरहेको त्यहाँका कर्मचारीले आरोप लगाएका छन् ।
गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राखिएपछि करिब तीन वर्षको अन्तरालमा हालसम्म विभागको भौतिक अनुगमन नगरिएको तथ्य पनि खुलेको छ । कर्मचारीका समस्या,विभागीय नीति निर्णयमा प्रधानमन्त्री कार्यालयले चासो नलिने, विभागबाट पठाइएका सामान्य सरुवा बढुवाको फाइलमा हस्ताक्षर गर्ने बाहेक प्रधानमन्त्री कार्यालयले विभागको प्रशासनिक काम कारवाही,जिन्सीलगायत स्रोतसाधनको परिचालन सम्बन्धमा अनुगमन एवम् सुपरीवेक्षण नगरेको बताइन्छ ।
बेखबर तालुक मन्त्रालय एवम् जिम्मेवारविहीन राजनीतिक,प्रशासनिक अभिभावकत्व भएको फाइदा उठाउँदै गुप्तचर प्रमुखले आठ वटा सुविधायुक्त गाडी प्रयोग गरेको विवरण प्राप्त भएको छ । थापाले नियमित चढ्ने करिब डेढ करोडको क्रिम कलरको जीप १ को अलावा जितबहादुर केसी विभागीय प्रमुख हुँदा उनले चढेको नीलो जीप २ पनि हाल प्रयोग गरिरहेका छन् ।
उनले औपचारिक समारोहमा कालो टोयोटा कार ३ चढ्छन् भने केही अघि करिव ६० लाखमा खरिद गरिएको विद्युतीय कार ४, दुई महिनाअगाडि किनिएको सुजुकीको नयाँ ब्रेज्जा कार ५,फोर्डको इकोस्पोर्ट कार ६,सेतो स्करपियो जीप ७ र एउटा नीलो भ्यान ८ गरी आठ वटा सरकारी गाडी प्रयोग गरेको बताइन्छ । त्यसमध्ये इकोस्पोर्ट कार भने श्रीमतीले निजी काम,घरायसी कार्यमा प्रयोग गर्ने भएकाले प्रायः उनको निवासमा राख्ने गरिएको छ ।
गुप्तचर विभागलाई स्रोत साधनयुक्त नबनाइएकोमा बारम्बार प्रश्न उठ्ने गरेको छ । तर हाकिमले भने स्वेच्छाचारी शैलीमा आधा दर्जन बढी सरकारी गाडी प्रयोग गरेको विषयमा हालसम्म सरकारले सोधखोज गरेको देखिँदैन । न तालुक अड्डा प्रधानमन्त्री कार्यालय नै यसबारे जानकार छ । तीमध्ये अधिकांश सवारी साधन आवश्यकताअनुसार रातो र सेतो नम्बर प्लेट बनाएर प्रयोग गर्ने गरिएको स्रोतको दाबी छ ।
यो रोग अन्य सुरक्षा निकायमा भए पनि यो हैसियतमा दुरुपयोग नभएको स्रोतको दाबी छ । सुरक्षा निकायमध्ये सबैभन्दा सानो,स्रोत र सुविधामा साँघुरो रहेको अनुसन्धान विभागमा भएको सवारी साधनको दुरुपयोगबारे स्वयम त्यहाँका कर्मचारीले चासो दिन थालेका छन् ।
प्रमुख थापाको नियुक्तिमा निकै दौडिएका भनिएका रुकुम घर भएका डिएसपी दिपक खत्री, बर्दिया घर भएका एसपी टेकेन्द्र तिमिल्सिना र दाङ घर भएका एसपी हेमन्त कार्कीले प्रमुख थापाको कार्यशैलीप्रति असन्तुष्टी जनाएको खबर छ । उनीहरुले क्रमशः त्रिभुवन विमानस्थल,भक्तपुर र प्रधानमन्त्री कार्यालय सरुवा मिलाएपछि विभागका प्रमुख अनुसन्धान अधिकृत थापा विगतको विश्वासिलो टिमबाट क्रमशः टाढा हुँदै गएको बताइन्छ ।
टिप्पणीहरू