एमालेमा अरुको बिजोग हेरेपछि एसतिरै

एमालेमा अरुको बिजोग हेरेपछि एसतिरै
सुन्नुहोस्

केपी ओली र माधव नेपालले पालैपालो मन्त्री बनाएका डोटीका प्रेम आलेमगरको पिरती फेरि एमालेसँग गाँसिन थालेको छ । वनमन्त्री हुँदाको बिजुलीका लागि रुख काट्ने फाइल सदर गरेका आलेलाई एकाएक ओलीले हटाएपछि माधव नेपालसँग नजिकिएका थिए ।

त्यसपछि अदालत जाँदासम्म माधवको साथमा रहे र त्यही कारण उनलाई शेरबहादुर देउवाको मन्त्रिमण्डलमा पर्यटनमन्त्री बनाइयो । त्यसपछिको चुनावमा माधव नेपालको अथक प्रयासले कांग्रेसको गढ डोटीमा उम्मेदवार बनाइयो र प्रतिनिधिसभा सदस्यमा जिते ।

उनले एकातिर अगुवा कांग्रेस, माओवादीलाई लट्टिपट्टी पारे भने एमालेका चक्र मल्ल र गौरी ओलीका बीचमा पनि फुट ल्याउन सफल भए ।

तिनै आले पछिल्लो पटक माधव नेपालबाट पार्टी नचल्ने भन्दै आफू निकटकालाई एमालेतिर पठाउन खोजिरहेका छन् । उनले म जाँदा पद जान्छ, तिमीहरू गएर मेरालागि एमालेमा माहोल बनाइराख भन्ने गरेको बताइन्छ । 

यस क्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घ बोगटीलाई सुवास नेम्वाङदेखि शंकर पोखरेलसम्म भेटाउने मेलोमेसो मिलाइयो । बोगटीले शंकरसँगको आफ्नो फोटो पनि सार्वजनिक गरे । महेश बस्नेतले त समाजवादीको सिंगो जिल्ला कमिटी एमालेतिर भनी फेसबुकमै लेखे । अहिले उनले सो स्टाटस डिलिट गरेका छन् ।

बोगटी प्रवेश गर्ने दिन र समय तय भइसकेको थियो तर समाजवादीका नेता पूर्णा जोशी र यज्ञराज जोशीको सक्रियताले रोकिए । उनलाई रोक्न समाजबादीका नेता दीर्घ सोडारी काठमाडौँ नै पुगेको चर्चा छ । बोगटी र सोडारी एकअर्कालाई मीत भन्ने गर्छन् । एमालेमा गएका समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, बाजुराका अध्यक्ष गगन रावल, अछाम अध्यक्ष हिरण्य भट्राईको एमालेमा अहिले विजोग रहेको उदाहरण दिइएपछि उनी समाजवादीमै अड्किएको बताइन्छ ।

भन्न त एमालेका चक्र मल्ल प्रदेश सभा सदस्य भएकाले स्वतः अध्यक्षबाट हट्ने र बोगटीलाई अध्यक्ष बनाउने बचन दिइएको थियो तर त्यसो नहुने उनले बुझेका छन् । निकै अस्थिर स्वभावका आले जिविस सदस्यको टिकट नपाउँदा २०५३ तिर एमाले भएका थिए । २०५५ मा संगठित सदस्यता पाए । त्यसो त उनी वामदेव, झलनाथ, माधव, ओली कुन बेला कहाँ पुग्छन् ठेगानै हुन्न । 
 

टिप्पणीहरू