क्रिकेट टोली भारत पठाउन तयार पाकिस्तानको मुख्य चासो खेलाडीको सुरक्षा

क्रिकेट टोली भारत पठाउन तयार पाकिस्तानको मुख्य चासो खेलाडीको सुरक्षा

पाकिस्तानले आगामी आईसीसी क्रिकेट विश्वकप २०२३ मा सहभागी हुन आफ्नो क्रिकेट टोली भारत पठाउने निर्णय गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयले त्यसबारे औपचारिक जानकारी गराएको छ ।

खेलकुदलाई राजनीतिसँग जोडेर हेर्न नहुने मान्यतामा जोड दिँदै पाकिस्तानले उक्त निर्णय गरेको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘दुई देशको राजनीतिक विवादलाई अन्तर्राष्ट्रिय क्रिकेटमा समावेश गर्न हुँदैन । एसिया कपको निम्ति भारतीय टोली पाकिस्तान नआउन सक्छ, तर पाकिस्तानले आफ्नो टोलीसँग त्यस्तो गर्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

तर पाकिस्तानले आफ्नो क्रिकेट टोलीको सुरक्षालाई लिएर चिन्ता जाहेर गरेको छ । यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र भारतीय अधिकारीहरुलाई जानकारी गराएकाले भारतमा पाकिस्तानी क्रिकेट टोलीको सुरक्षा सुनिश्चितता हुने पाकिस्तानले विश्वास लिएको हो ।

यस पटकको एक दिवसीय विश्वकप अक्टोबर ५ देखि भारतमा हुँदैछ । उद्घाटन खेल इङल्याण्ड र न्युजिल्याण्डबीच हुने खेल तालिका छ । पाकिस्तानले आफ्नो पहिलो खेल भोलिपल्ट नेदरल्याण्डसँग खेल्नेछ । टोलीको दोस्रो खेल श्रीलंकासँग हुने छ भने ती दुवै खेल हैदरावादमा हुने बताइएको छ ।

टिप्पणीहरू