सुन तस्करीबारे गृहमन्त्रीले संसदमा बोल्ने सहमतिसंगै एमालेले अडान छोड्यो
संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । बालुवाटारमा आज बिहान बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको छलफलले संसद खुलाउने सहमति गरेको हो ।
एक क्विन्टल सुन तस्करी छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग गर्दै प्रमख प्रतिपक्षी नेकपा एमालेले सदन अवरुद्ध पार्दै आएको छ । सुन तस्करीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिने सहमतिसँगै एमाले सदनको अवरोध हटाउन सहमत भएको हो ।
बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले आज बोलाइएको संसद् बैठकमा गृहमन्त्री श्रेष्ठले बोल्ने र बैठक पनि सञ्चालन हुने जानकारी दिए ।
‘संसदमा मान्यज्यूहरुले आफ्नो धारणा राख्नुपर्नेछ । बाढी पहिरोको समस्या छ । लम्पी स्किनका विषय छन् । तमाम विषयले सदन चलाउनुपर्ने छ । उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको स्थिति हुँदाहुँदै पनि आज गृहमन्त्रीज्यूले केही कुरा बताउँछु भन्नु भएकाके छ । आज बैठक अघि बढ्नेछ । गृहमन्त्रीको जवाफ सुन्छौँ,’ उनले भने ।
बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको छ । त्यसअघि सभामुखले प्रमुख दलका सचेतकहरुलाई छलफलमा बोलाउनुभएको छ ।
टिप्पणीहरू