गृह मन्त्रालयको सहमतिले उपेन्द्रलाई तनाव

गृह मन्त्रालयको सहमतिले उपेन्द्रलाई तनाव

गौर हत्याकाण्डको छानबिन गर्ने तयारीका साथ सरकारले पीडित पक्षसंग सहमति गरेपछि जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको आकस्मिक बैठक बोलाएको छ ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज बैठक बोलाइएको हो । गौर हत्याकाण्ड छानबिनका लागि समिति बनाउने सरकारको निर्णय र त्यसले उत्पन्न गर्ने सम्भावित परिस्थितिका सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको । 

‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसवाट उत्पन्न परिस्थीतिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्बजनिक गर्नेछ’ एक नेताले भने । 

हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच सहमति भएको थियो । बताइए अनुसार अध्यक्ष उपेन्द्र यादवलाई फसाउनका लागि सरकारले समिति बनाउन लागेको बुझाईमा जसपा पुगेको छ । त्यहि भएर उसले हत्तपत्त बैठक बोलाएको हो । 

यस विषयलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफूलाई फसाउनका लागि’ समिति बनाउन लागेको भन्दै यादवले देउवासमक्ष गुनासो राखेका छन् ।   

यसै विषयमा यादवले हिजो आफ्नै पार्टीका शीर्ष नेता र सांसदहरुसँग पनि छलफल गरेका थिए । 

२०६३ सालमा रौटहटको गौरस्थित राइसमिलको चौरमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएको घटना 'गौर हत्याकाण्ड' का रुपमा चर्चित छ । १६ वर्षअघि उक्त हत्याकाण्ड हुँदा फोरमको अध्यक्ष थिए उपेन्द्र यादव । उनकै संलग्नतामा घटना घटाईएको भन्दै अदालतमा मुद्दासमेत परेको छ ।
 

टिप्पणीहरू