संघीय संसद सुचारु, प्रादेशिक अनिश्चितकालसम्म स्थगित
कोशी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले बैठक अनिश्चितकालका लागि स्थगित गरिएको घोषणा गरेका छन् ।
आज बैठकको प्रारम्भलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरूले उठेर विरोध गरेपछि मन्सुरीले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।
राप्रपाको संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र एमाले प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो लिम्बूले बोल्दै अस्तिको बैठकमा सत्ता पक्षबाट अमर्यादित तथा संसदीय परम्परा विपरीत घटना गराएको आरोप लगाएका छन् । सभाध्यक्ष मन्सुरीबाट संविधान उल्लंघनको काम भएकाले आफूहरूले प्रदेश सभाको बैठक बहिष्कार गरेको जानकारी गराएर उनीहरु बैठक कक्षबाट बाहिरिएका हुन् ।
यता, संघीय संसदको बैठक झण्डै एक महिनापछि आज दिउँसोबाट सुचारु भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउनुपर्ने एमाले मागमा सत्तापक्ष सहमत भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रारम्भ भएको हो ।
टिप्पणीहरू