मदन भण्डारीसँग संगत गरेकोमा पछुतो लागिरा’छ
मानवअधिकारसम्बन्धी समानान्तर एनजिओ (इन्सेक) को लामै समय नेतृत्व गरे सुवोधराज प्याकुरेलले । नाताले सुमन, सुवोध, सुशील र डा. कुन्दन अर्यालहरू मामा–भाञ्जा । उनीहरू नै सो संस्थाको हर्ताकर्ता हुँदा पारिवारिक वृत्तजस्तै रह्यो इन्सेक । यसैले हुन सक्छ, इन्सेकलाई एमालेकै एनजिओको रूपमा चिनिन्छ । एक समय कुन्दनलाई केपी ओलीको प्रेस सल्लाहकारका रुपमा सूर्य थापाले विस्थापित गरे । त्यही बेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार थिए मामा सुशील प्याकुरेल । एमालेमा केपी ओली र विद्या भण्डारीहरू दुःखमा हुँदा आर्थिक सहयोग गर्नेमध्येका एक सुवोधले हालै मात्र हरेक कार्यक्रममा केपी ओलीको मात्र तस्बिर राख्ने सर्कुलरविरुद्ध कडा प्रहार गरेका छन्, सामाजिक सञ्जालमार्फत । विराटनगर बस्दा मदन भण्डारीसँग बाक्लो संगत गरेका, लामो पार्टीगत जीवन भएका प्याकुरेलले केन्द्रमा बसेका सारा एमाले पदाधिकारीले निरंकुशताविरुद्ध बोल्न छाडेको बेला सामाजिक सञ्जालमार्फत पोखेको असन्तुष्टिलाई अर्थपूर्ण मानिँदै छ । चाकडी गर्नेसँग वैचारिक क्षमता र प्रतिबद्धता केही हुन्न । चाकडीकै बलमा सचिवालयमा पुगेका ऐंजेरुजस्तै सदस्यहरूका कारण एमाले पार्टीकै घोर बेइज्जत भएको तर्क गर्छन्, उनी ।
– हरि गजुरेल
एकातिर सम्पत्ति शुद्धीकरणको हिसाबले नेपाल ‘ग्रे जोन’ मा पर्ने खतरा, अर्काेतिर मानवअधिकार आयोग ‘क’ बाट ‘ख’ मा खस्ने चेतावनी । कस्तो लाग्दैछ ?
– फौजदारी अपराध र कानुन उल्लंघन मात्र होइन नि मानवअधिकार भनेको । मानवअधिकारको विश्वव्यापी अवधारणामा मानव जीवनसँग जोडिएका सबै विषय गाँसिएर आउँछन् । हाम्रो सार्वजनिक प्रशासन, कानुन निर्माणको तरिका, भ्रष्टाचारका अलावा एकअर्कासँग बाझिने अदालतको फैसलाजस्ता यावत् कुरा गएर ठोक्किन्छ मानवअधिकारसँग । राष्ट्रिय मानवअधिकार आयोगले गरेका सिफारिस सरकारले टेर्दैन तर उता सरकारले राहत वितरणमा भने उदारता नै अपनाएको देखिन्छ । अपराध, गल्ती भएरै त राज्यले राहत दिएको होला । यस्तै कारण हाम्रो राष्ट्रिय मानवअधिकार आयोग प्रभावकारी हुन सकेन । भुटानी र सुन तस्करीजस्तो गम्भीर विषयवस्तुमा छानबिन गरिरहेका प्रहरी अधिकारीहरू सरुवामा परे । पूर्वप्रम बाबुराम भट्टराई र माधव नेपाललगायत हाइप्रोफाइलको घरमै पुगेर सिआइबीले बयान कागज गरायो । यी सबै कुरा हेर्दा आँखा चिम्लेर भन्न सकिन्छ– नेपालमा नागरिकको मर्यादा छैन ।
केपी ओली प्रधानमन्त्री हुँदा मानवअधिकार आयोगसहित संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्ति प्रक्रियामै खोट थियो । सोही कारण नेपालको मानवअधिकार आयोग क बाट खमा खस्दै छ भन्ने तर्क छ । यो तर्कमा कत्तिको दम छ ?
– त्यो नियुक्ति सिफारिसमा कार्यपालिकाकै बहुमत छ । भन्नलाई त कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आ–आफ्नो क्षेत्रमा स्वायत्त हुन्छन् र एकले अर्काेको अनुगमन गरिरहेका हुन्छन् भनिन्छ । तर, चोर बाटोबाट चारैतिर कार्यपालिका नै हावी भएपछि अनुगमन कसरी र कसले गर्ने ? व्यवस्थापिका भनिएको छ, हरेक विषयमा ह्विप जारी हुन्छ । प्रमुख सचेतकले आफ्ना जुन सांसदलाई जे बोल भन्छ त्यही बोल्ने हो । यहाँ सांसदको स्वायत्तता नै छैन । आफ्नो निर्वाचन क्षेत्रको समस्या त उसले निर्धक्कसँग राख्न पाउनुपर्ने नि ! सदनभित्र छिरेपछि सबै सांसद राज्यप्रति बराबरी जवाफदेही हुनुपर्ने हो । उक्त जवाफदेहिता बोलीबाट प्रकट हुनुपर्ने हो तर जनतासँग सम्पर्क, अन्तरक्रिया गरेर उक्त निश्कर्ष सदनमा बोल्यो भने नेताले डण्डा चलाउला भन्ने पीर । संसदमा सदैव जनताको अभिमत देखिनुपर्ने हो तर हामीकहाँ हेर्नुहोस् त एमालेले यत्रो दिनदेखि सदन बन्द गरिरहेको छ उच्चस्तरीय छानबिन आयोगका नाममा । अहिलेसम्म जति पनि छानबिन समिति बनेका छन् तिनका रिपोर्ट लुकाइयो वा ती ढड्डा फाइलमा लुकेर बसे । सुन तस्करी प्रकरणमा प्रहरीले एक तहसम्म छानबिन गरेर प्रकाशमा ल्याएको थियो, त्यसलाई पनि एमालेले मासिदिने भयो भन्ने उल्टो सन्देश गएको छ ।
मानवअधिकारको चश्माबाट हेर्दा संविधान जारी भएयता नेपालमा मानवअधिकारको स्थिति कस्तो देख्दै हुनुहुन्छ ?
– तुलनात्मक रूपमा हेर्दा प्रजनन स्वास्थ्य, बालबालिकाको शिक्षा, पोषणसहित ९२ प्रतिशतले आधारभूत पिउने पानी पाएका छौं । बाटोघाटो धेरै ठाउँमा पुगेको छ तर हामी जुन युगका नागरिक हौं, त्यो हैसियतमा पुगेकै छैनौं । निर्णय गर्ने र आफ्नालागि भएका कामको अनुगमन गर्ने ठाउँमा नेपाली नागरिक छैनन् । पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्थामा योजना छनोट गर्दा १७ चरण हुन्थ्यो । अहिले सबै हटाइएको छ । ठालूहरूले बसेर योजना छान्ने भएका छन् । प्रजातन्त्र भनेको जहिल्यै अल्पमतको शासन हो । कुनै ठाउँमा १ सय जना नागरिक छन् भने त्यहाँ ६० जना मतदाता होलान् । ६० प्रतिशत हाराहारी (३६ जनाले) मात्र मतदान गर्ने हुन् । त्यसको ४० प्रतिशत अर्थात् १४ मत ल्याएको खण्डमा उसले निर्वाचन जित्छ । उसो हो भने बाँकी ८६ जनाचाहिँ नागरिक होइनन् ? यसबीच प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अनेक तन्त्र भन्यौं । ‘गण’ भनेको के हो ? प्रधानमन्त्री, राष्ट्रपतिलाई भनिएको हो र ? आधारभूत तहका नागरिकलाई संबोधन गरिएको हो नि ! कानुनको शासन कति तगडा छ हेर्नुहोस् त, माधव नेपालको निम्ति २० प्रतिशतमै पार्टी फोर्नसक्ने बनाए । पार्टी फोरिसकेपछि ४० मा उकाले । एमालेले ७० वर्ष नाघेपछि पार्टीको कार्यकारी पदमा उठ्न पाइने गरी विधान संशोधन गर्याे र त्यसलाई अर्काे अधिवेशनबाट अनुमोदन गराउने भनियो । अर्काे अधिवेशनले अनुमोदन गरेन भने अहिले भए गरेको काम खारेज हुन्छ त ?
बाढी पहिरोको वितण्डा, लम्पी स्किनजस्तो रोगका कारण हजारौं पशु मर्दा कृषक मारमा छन् । सदनमा जनताका असंख्य समस्या उठान गर्नुपर्ने प्रमुख प्रतिपक्षी सुनमा अड्केर बसेको छ । एमाले प्रमुख प्रतिपक्षीको धर्म निर्वाह गर्नबाट चुकेको हो ?
– उच्चस्तरीय छानबिन समितिको आवश्यकता किन र के हो ? तर हाम्रा नेतालाई लाग्छ– यस्ता कुरा मैले ठोकिदिएपछि जनता मेरो पक्षमा आउँछन् । यो अधिनायकवादी चिन्तन हो । त्यही सोचका कारण यति सुन्दर प्रस्ताव पनि तुहिने देख्दै छु । अहिलेसम्म बनेका एक सयभन्दा बढी आयोग, समितिको प्रतिवेदन कहाँ छ ? यो त अभिलेखबिनाको देश हो । विकसित प्रजातन्त्र भएको मुलुकमा शून्य समय सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यहाँ सम्बन्धित मन्त्री बस्छन् । बेलायत, अष्ट्रेलिया, क्यानाडामा प्रधानमन्त्रीहरू नै बस्छन् । हामीकहाँ त मतलवै छैन । अहिले एमालेले यति लामो दिनसम्म संसद अवरोध गर्ने काम मलाई निको लागेको छैन । यसो गर्न कानुनले पनि दिँदैन ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ३३ किलो सुन काण्ड आयो । त्यो प्रकरणमा पक्राउ परेका सबै निर्दाेष सावित भए । अहिले त्यही काण्डका नाममा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । अहिले प्रमुख प्रतिपक्षीको भूमिका के हुनुपथ्र्यो ?
– लेनिनको समयमा डुमा थियो । क्रान्तिकारी र श्रमजीवी वर्गबाट आएका बोल्सेविकहरूले थोरै सिट जितेका थिए । उनीहरू न त धेरै पढेलेखा, न धनी । पार्टीले जुन विषय छलफल गरेर टुंग्याएको हुन्थ्यो त्यही विषय संसद डुमामा दोहोर्याइरहन्थे । अरुले उनीहरूलाई गिल्ला गर्दथे । पार्टीमा उक्त कुरा उठाउँदा लेनिनले गजबको जवाफ दिए, ‘हामी जनताका लागि आन्दोलन, क्रान्तिमा छौं । नयाँ कुरा सोच्न भ्याएका छैनौं । पुराना विषय सर्वहारा, थिचोमिचोमा परेका जनताका लागि हो, त्यो विषयको महत्व घट्दैन ।’ नयाँ कुरा उहाँहरूलाई बताउन सकेको समयमा भनौंला । पुरानो कुरा हरेक बैठकमा दोहोर्याउँदा जनताको कान ठाडो हुने भयो । एमालेले अहिले त्यही तरिका अपनाउनुपथ्र्याे कि प्रत्येक दिन सदन शुरु हुनासाथ विशेष समय लिएर चार मीनेटमा उच्चस्तरीय समिति किन चाहियो, त्यो स्पष्ट पार्ने । त्यसो गरेमा आमजनता सचेत हुन्थे होला तर यहाँ त लगातार २७ दिन संसद अवरुद्ध गरिएको छ । यत्रा ठुल्ठूला समस्या छन् । सरकार क्या आनन्द मानेर बसेको छ । लम्की स्किनका कारण ५० हजार पशु मरिसके । लाखौं किसानको उठिबास भइसक्यो । यत्रो बाढी पहिरोका कारण मान्छे सडकमा छन् । हेर्ने कोही माइबाप छैनन् ।
मदन भण्डारीको समय (पाँचौं महाधिवेशन) देखि लोकतान्त्रिक हिसाबले प्यानल बनाएर चुनाव लड्न खुला गरिएको पार्टी हो एमाले । दशौं महाधिवेशनसम्म आइपुग्दा अरुले प्रतिस्पर्धा नै पाएनन् । एमालेमा देखिएको यो निषेधको राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
– महाधिवेशन त भनियो तर त्यो विधिसम्मत भएन । महाधिवेशनमा सर्वसम्मत हुनु राम्रो कुरा होइन । सिपी मैनालीले मदन भण्डारीको सबैभन्दा बढी आलोचना गर्नुभएको थियो तर आफूपछिको मर्यादामा त उहाँले सिपीलाई नै राख्नुभयो । जसरी आफ्नो विरोध गर्ने ट्राटस्कीलाई लेनिनले आफूपछिको मर्यादामा राख्नुभएको थियो । बुझ्नेका लागि आलोचकहरू सहयोगी हुन् । कोही पार्टीलाई समूल नष्ट गर्नतिर लाग्छ भने ऊ दुश्मन हो ।
तपाईंकै पार्टी जीवन, राजनीति लामो छ । कुनै समय मदन भण्डारीसँग लामो संगत गर्नुभयो । केपी ओली, विद्या भण्डारीहरूलाई दुःख पर्दा सहयोग गर्ने थोरैभित्र तपाईंहरू पर्नुहुन्छ । अहिले केन्द्रमा बसेका पदाधिकारीहरू बोल्न छाडेका छन् तर तपाईंले भने सामाजिक सञ्जालबाटै असन्तुष्टि पोख्नुभएको छ । एमालेप्रति असन्तुष्टि कसरी झांगियो ?
– ६ वर्ष मदन भण्डारीसँग संगत गरेँ । जनताको बहुदलीय जनवादी चिन्तनको शुरुवातदेखिकै सबै मर्म थाहा छ । तर उहाँसँग धेरै नजिक भएकोमा अहिले पश्चाताप छ ।
मदन भण्डारीसँग नजिक भएर काम गर्दा पनि पश्चाताप ?
– मदनको आदर्श बेग्लै थियो तर अहिले पार्टीमा ग्ल्यामर र चाकडीको युग आयो । चाकडी गर्नेसँग वैचारिक क्षमता हुँदैन, प्रतिबद्धता पनि हुँदैन । यी ऐंजेरुजस्तै हुन् । जुन नेताको पछाडि झुण्डिँदा बढी लाभ हुन्छ, त्यतै लाग्छन् । त्यस्ताले आलोचना गर्ने, सुझाव दिने कुरै भएन । असल मान्छे छ भने न उसले आलोचना गर्ने हिम्मत राख्छ । यो क्रम अगाडि बढ्दै गयो भने भोलि के होला ? आफ्नो व्यवहारबाट सिक्नुपर्ने ‘जाबो’ कुरामा पनि निर्देशन दिने हो र ? उसो हो भने त भात खानुअघि साबुनपानीले हात धुनु भनेर सर्कुलर गरे भो नि ! पार्टीको झण्डाभन्दा माथि कुनचाहिँ व्यक्ति हुन्छ ? पुष्पलालले पार्टी बनाउनुभयो, मदनले नयाँ विचार दिनुभयो । मनमोहनले एउटा आदर्श स्थापित गर्नुभयो । उहाँहरूको फोटो राखौंला । अनेमसंघले कार्यक्रम गर्दा साहना प्रधान, किसानले तुल्सीलाल, सिन्धुलीमा कुनै कार्यक्रम हुँदा कमरेड आजाद, इलाम, भोजपुरमा रत्नकुमार बान्तवाको फोटो नराखी कुनै कार्यक्रम गर्दछन् ? यो फोटो राख, त्यो फोटो नराख के भन्या यो ? कस्तो सर्कुलर हो त्यो ? भोलि कस्तो जुत्ता लगाएर आउने, कस्तो सर्ट प्यान्ट लगाएर आउने भन्ने सर्कुलर गरे भो नि त ! त्यो विषय जब सचिवालयको एजेण्डा बन्छ भने सचिवालयले काम पाएनछ भनेर बुझ्नुपर्छ । यो त एमाले पार्टीकै घोर बेइज्जत भयो ।
यस्तो चिन्तनले कालान्तरमा एमालेलाई कहाँ पु¥याउला ?
– एउटा श्रृंगारिक समूहमा पुर्याउँछ । पार्टी छ भन्नका लागि एउटा सर्कुलर गरिदियो । सर्कुलरको अगुवा गर्नेलाई मैले एउटा विश्लेषण दिएको छु, अतिभक्ति ८४ लक्षणम् र हरिया झिँगाहरू ।
एमालेमा लोकतान्त्रिक पद्धति किन खिया लाग्दै गयो ?
– एमालेजत्तिको लोकतान्त्रिक पार्टीमा यो स्थिति आउला भनेर मैले कल्पनै गरेको थिइन । पार्टी विचार, आदर्शले चल्ने हो । हैकम चलाएर कहाँ हुन्छ ? व्यक्तिपूजामा रमाउनेहरू आफैं प्रत्युत्पादक हुन्छन् र कालान्तरमा सिद्धिन्छन् । जो व्यक्ति पूजा गरिरहेका छन्, ती सबै परिजिवी हुन् । हिजो संकटको बेला सतिसाल झैं ठिङ्ग उभिएका, अहिलेसम्म दायाँ बायाँ नभएकाहरूको अगाडि ती पर्न सक्दैनन् ।
केपी ओलीको हिजोको राप–ताप प्रतिशोधको राजनीतिका कारण सकियो भन्नेहरू पनि छन् नि, त्यस्तै हो ?
– मैले जानेको केपी ओली मित्रवत्, फरासिलो, खुलस्त, रमाइलोसँग कुरा गर्ने पात्र हो । दागा धरेको मलाई थाहा छैन किनभने यो चाहियो भनेर मैले कहिल्यै मागेको छैन । उहाँले लगाए, अह्राएको काम गरेको छु । आफ्नो समय मिलाउन नसक्ने, योजनाबद्ध ढंगले काम गर्न नसक्ने यी दुई वटा अवगुण छन् उहाँमा । चल्ते चलाते, जे प¥यो त्यही गरिहाल्ने । १४ वर्ष जेल बस्नुभयो । तल जरादेखिको संगठन कसरी चलेको छ । त्यो बुझ्ने मौका नै पाउनुभएको छैन । एकैचोटी ठूलो मान्छे हुनुभयो । जहाँ गयो मञ्चका मान्छेले मात्र घेरिबसे । त्यो कमजोरी कसरी सच्याउने उहाँको कुरा । उहाँले मान्छे चिन्ने परिस्थिति आफैं निर्माण गर्नुभएको छैन । वरिपरिका मान्छेले जे सुनाउँछ त्यही मात्र हो सुन्ने । नेताले त मल्टिमल क्रस चेक गर्छ नि ! कम्बोडियाबाट फर्कनासाथ सुनकाण्डबारे एयरपोर्टमा पोखेको आक्रोशको आधार हेर्नोस् त, काफी छैन ?
माधव नेपालहरूको भविष्यचाहिँ कस्तो देख्नुहुन्छ ?
– माधव नेपालको माया लाग्छ । उहाँको गुण थियो, मन नपर्दा, रिस उठ्दा सामुन्नेमा गएर मज्जाले गाली गर्दा हुन्थ्यो । मसँग इवि साध्नुभएको अनुभव पनि छ । एक जना मान्छेको रिसले पार्टीकै विरुद्ध किन जाइलाग्नुभयो, मैले अझै कुरा बुझेको छैन । मनभित्रबाट उहाँसँग कुरा गर्न रहर छ तर मौका मिलेको छैन । उहाँ जत्तिको सरल र सादगी मान्छे यो तहमा जानुपर्ने होइन ।
कतिपयले पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमै फर्कनुहुन्छ, एमालेको भावी अध्यक्ष नै उहाँ हुनुपर्छ भन्छन् नि ! पूर्वराष्ट्रपतिसँग नजिक रहेर काम गर्नुभएको नाताले स्थिति त्यही हो ?
– केपी शर्मा ओली १४ बर्ष जेल बसेर फर्कंदा समय १४० वर्षअगाडि कुदिसकेको थियो । विद्या ६ बर्ष राष्ट्रपति हुनुभयो । समयले ६० वर्षको फड्को हानिसक्यो । आजको समयमा जसले रुस र युक्रेनको द्वन्द्व, अफ्रिकामा शुरु भएको पुनर्जागरण र चीनले कृषि र उद्योगमा गरेर विकासको गति बढाउँदै एकै पटक ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गराएको विषय बुझ्दैन, उसले राजनीति गर्न सक्दैन । विद्या भण्डारी ६ वर्ष राष्ट्रपति हुँदा कर्मचारीले लेखिदिएको भाषण सेनाले ल्याएर पढ्न दिन्थ्यो । सेनाकै चश्मा लगाएर पढ्नुभयो । त्योभन्दा बढी राष्ट्रपतिलाई भूमिका छैन । विद्या भण्डारी नेपाली समाजलाई बुझेको मान्छे । जो एमालेका वास्तविक सदस्य छन्, उनीहरूका लागि सम्माननीय हुनुहुन्छ ।
देशव्यापी मानवअधिकारसम्बन्धी समानान्तर सञ्जाल इन्सेकको नेतृत्व गर्नुभयो, इन्सेक भनेपछि एमालेको एनजिओका रूपमा चिनिन्छ, अझै पनि । तपाईं नेतृत्वमा रहँदा त्यहाँ कति जति एमालेका कार्यकर्ताले जागिर पाए होलान्, केही रेकर्र्ड छ ?
– हामीले कसैलाई एमाले भनेर जागिर दिएका छैनौं । जसरी मन्दिर बाहिर जाँदा जुत्ता बाहिरै फुकाल्छौं उसैगरी मानवअधिकार संस्थामा छिर्दा मानवअधिकारकर्मी मात्र हुन्छौं । तर एउटा लिगेसी के भने इन्सेक स्थापना हुँदा एमालेकै मान्छेले गरे, नेतृत्वमा धेरै पछिसम्म एमालेकै मान्छे रहे । आवेदन खुल्दा एमालेकै मान्छेले हाले होलान् । एमालेको एनजिओ हो भनेर धेरैले आवेदनै हालेनन्, हामीकहाँ डा. राजेश गौतम महासचिव हुनुहुन्थ्यो उहाँ एमालेको होइन नि !
टिप्पणीहरू