सिडियो र एसपीकै अगाडि उद्योगीको दावी,‘प्रहरी भन्दा तस्कर एक कदम अगाडि छन्’

सिडियो र एसपीकै अगाडि उद्योगीको दावी,‘प्रहरी भन्दा तस्कर एक कदम अगाडि छन्’

उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारडाले जिल्लाका सुरक्षा निकायभन्दा तस्करहरु एक कदम अगाडि रहेको बताएका छन् । 

सदरमुकाम लहानस्थित मारवाडी सेवा सदनको सभाहलमा हिजो भएको संघको साधारणसभामा उनले सिडियो राजेन्द्रदेव पाण्डे र एसपी टेकुनन्द ईवा लिम्बुतर्फ हेर्दै भने,‘बोर्डरमा तस्करहरु तपाईंहरु भन्दा एक कदम अगाडि छन् ।’

अन्य वक्ताले व्यापार व्यवसायमा देखिएको समस्या व्यक्त गर्दै गर्दा उनले तस्करी नियन्त्रणमा सिडिओ र प्रहरी कार्यालय असमर्थ रहेको गुनासो गरेका हुन् । नाकाबाट खुलेआम भइरहेको तस्करीका कारण व्यवसायी मर्कामा परेको जानकारी गराउँदै उनले व्यापारीलाई मीटरब्याजीको संज्ञा दिएकोमा चित्त दुखाए । 

त्यस्तै, उनले नेपाल राष्ट्र बैंकले ल्याएको बैकिङ्ग कर्जा नीतिप्रति समग्र व्यवसायीको सहमति नरहेको धारणा राखेका थिए । 

‘राष्ट्र बैंकले जारी गरेको बैकिङ्ग कर्जा नीतिविरुद्ध व्यापारीहरुको सहमति छैन् । त्यसको विरोधमा उद्योगसम्बद्ध चार संघसंस्थाले एक घन्टा बैकिङ्ग कारोबार ठप्प पनि पार्यों । तर, कुनै प्रभाव नै परेन् । उद्योग वाणिज्य महासंघले कर्जा नीतिमा देखिएको समस्या समाधानको लागि पहल गरिरहेकै छैन्’, उनले भने । 

त्यसैगरी, चाडबाडलक्षित सुरक्षाव्यवस्था कायम गर्न र नियमित बजार अनुगमनको व्यवस्थापन मिलाउन अध्यक्ष शारडाले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् । 

संघको ३४ औं वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सूर्यकृष्ण वैद्य, पूर्वअध्यक्ष किशोर झा, मधेश प्रदेशका उपाध्यक्ष राजेश अग्रवाल, महासंघका केन्द्रीय सदस्यहरु, व्यापारी उमेश रसाइली, लालबाबु अग्रवाललगायतको उपस्थिति थियो ।

 

टिप्पणीहरू