वरिष्ठले पनि छोडेपछि सिके राउतलाई थप संकट
सिके राउत नेतृत्वको जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गरेका छन् ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–४ का उनले साधारण सदस्यसमेत नरहनेगरी जनमत छोडेका हुन् । चौधरीले केन्द्रीय कार्यालयमा आज पेश गरेको राजीनामा पत्रमा नेतृत्वको स्वेच्छाचारी प्रवृतिका कारण पार्टीमा रहन नसकेको उल्लेख छ ।
नेतृत्व भ्रष्टाचारमा लिप्त भएको र नातावाद मौलाएको आरोप लगाउँदै उनले त्यहाँ बसेर काम गर्ने वातावरण नै नभएको जिकिर गरेका छन् ।
अध्यक्ष राउतलाई सम्बोधन गरेर उनले लेखेको राजीनामा पत्रमा भनिएको छ,‘यो पार्टी आफ्नो नीति–सिद्धान्तबाट विचलित भई भ्रष्टाचारमा लिप्त भएको र नातावाद हाबी भएको पार्टीमा काम गर्ने वातावरण नरहेकोले म आफ्नो पद तथा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको छु ।’
चौधरी मधेशको राजनीतिमा परिचित नेतामा पर्दछन् । जेनजी आन्दोलनपछि जनमतमा पार्टी छोड्नेको लर्को नै लागिरहेको छ । आजै केन्द्रीय सदस्य विक्रमबहादुर बम, उदयपुर जिल्ला इञ्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारीलगायत जनमत परित्याग गरी आजपामा मिसिएका छन् ।
त्यसअघि सिकेसँग असन्तुष्ट समूहले पार्टी विभाजन गरी उपाध्यक्ष दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी(जस्वपा) गठन गरेको थियो । यद्यपि, उक्त दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय तत्कालका लागि राेक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको अवस्था छ ।
टिप्पणीहरू