मार्ने औषधी
केही दिन भयो, रत्नपार्क–भोटाहिटीतिर एउटा मान्छे कराइरहेको– लौ आयो है मुसा मार्ने, उडुस मार्ने, साङ्ला मार्ने, मच्छर मार्ने औषधी !
अर्थात सडक छेउमै बसेर उनी मुसा मार्ने, उडुस मार्ने, साङ्ला मार्ने, मच्छर मार्ने औषधी बेचिरहेका थिए ।
अस्ति गएर सोधेँ, ‘भाइ, तपाइँसँग मुसा मार्ने, उडुस मार्ने औषधी मात्रै छ कि अरु मार्ने औषधी पनि छ ?’
उसले सोध्यो, ‘के मार्ने औषधी चाहियो दाइ ?’
मैले भनेँ, ‘मान्छे मार्ने औषधी छैन ?’
उसले भन्यो, ‘मान्छे मार्ने औषधी मैले बेच्नै पर्दैन । त्यो त पसल पसलमै पाइन्छ ।’
‘कुन पसलमा पाइन्छ ?’ मैले हठात् सोधेँ ।
‘सबै पसलमा पाइन्छ,’ उसले भन्यो, ‘तपाईं यो बजारको जुनसुकै पसलमा गएर जेसुकै खानेकुरा किन्नोस्, त्यसले मान्छे मारिरहेकै हुन्छ । एकैचोटी मार्दैन, तर विस्तार विस्तारै मारिरहेको हुन्छ ।’
‘कस्तो खानेकुरा भाइ ?’
‘जे पनि । तपाईं तरकारी किन्नोस् त्यसमा रासायनिक मल हालिएको हुन्छ, त्यसले मान्छे मारिहाल्छ । फलफूल किन्नोस्, त्यसमा इन्जेक्सन ठेलिएको हुन्छ, त्यसले पनि मान्छे मारिहाल्छ । दाल–चामल किन्नोस्, त्यसमा पालिस हालेर टल्काइएको हुन्छ, त्यसले मान्छे मारिहाल्छ । जंक फुड किन्नोस्, त्यसले झन् मान्छे मारिहाल्छ । रोटी किन्नुस् तेलले मान्छे मार्छ, मिठाइ किन्नोस् घिउले मान्छे मार्छ । अहिले बजारमा मान्छे नमार्ने खानेकुरा केही पनि छैन ।’
भाइको कुराले म झस्केँ ।
उसले फेरि भन्यो, ‘हैन त दाइ ? मान्छे मार्ने औषधी अहिले पसल पसलमै यस्तोविधि किन्न पाइन्छ भने मैले किन बेच्नुप¥यो ? म त चुपचाप मुसा मार्ने, उडुस मार्ने, मच्छर मार्ने औषधी मात्रै बेच्छु । तपाईंलाई मुसा मार्ने औषधी चाहिँदैन ?’
टिप्पणीहरू