प्रमको आँखा जाँच
अन्ततः डा. सन्दुक रुइत मन्त्री नबन्ने हुनुभो । कुलमान घिसिङ र महावीर पुनजस्तै उहाँ पनि मन्त्री बनिदिए हुन्थ्यो भन्ने सुशीला कार्कीज्यूको इच्छा थियो । त्यसको लागि अनुरोध गर्न प्रधानमन्त्री नै उहाँको अस्पतालसम्म जानुभयो । तर पछि विज्ञप्ति निकाल्दा भनियो कि यो त आँखा जँचाउनका लागि मात्रै थियो ।
अब प्रधानमन्त्रीज्यू त्यहाँ आँखा जँचाउन जानुभएको हो कि होइन हामीलाई थाहा भएन । साँच्चै जँचाउन जानुभएको हो भने त्यसलाई राम्रै मान्नुपर्छ । किनभने प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उहाँको आँखा तेजिलो हुनै पर्छ । मन्त्री बन्नका लागि ताल–तालका मान्छे आइरहेका छन् । राम्ररी चिन्न पनि आँखा तेजिलो हुनै पर्छ । झण्डै एक जना भ्रष्टाचारमा डामिएका कर्मचारीलाई मन्त्री बनाउन लाग्नुभएको थियो । बच्नुभयो । अब सरकारमा मन्त्री भएर जो बसिरहेका छन्, उनीहरू के काम गर्दैछन्, त्यो पनि राम्ररी हेर्नुपर्ने हुन्छ । कतै भ्रष्टाचार पो भइरहेको छ कि ? त्यो पनि हेर्नै पर्ने हुन्छ ।
अझ मिल्छ भने डा. रुइतले पुराना नेता जम्मैको आँखा एकपटक जाँचिदिए राम्रो हुने थियो । गोली लागेर मान्छे ढलेको नदेख्ने, सिंहदरवार जलेको मात्र देख्ने । नेताले अर्बौं भ्रष्टाचार गरेको नदेख्ने, जनताले फ्रुटी जुस लुटेको मात्र देख्ने । नेताले घरमै पैसा लुकाएको नदेख्ने, जनताले एक गाग्री पानी लुकाएको देख्ने । यस्तो आँखालाई पनि राम्ररी नै जाँच्नु पर्छ । डा. रुइतले सरकारमा आएर काम नगरे पनि अस्पतालमा बसेर यति काम त गर्न सक्नुहुन्छ होला नि !
टिप्पणीहरू