दशैँमा दशैँ

दशैँमा दशैँ

दशैँ आयो । सबैलाई दशैँको शुभकामना !

अब भन्नुपर्ने कुरा त होइन, दशैँ नेपालको सबैभन्दा ठूलो चाड हो । ठूलो चाड भएकोले यो आउँदा पनि ठूलै माहौल खडा भएको हुन्छ । अर्थात् दशैँ भनेको यस्तो चाड हो जो भेलजस्तो भएर आउँछ । एक्लै आउँदैन । यसको साथमा अरू पनि धेरै कुरा ¥यालीजस्तै गाँसिएर आउँछ ।जस्तो कि दशैँ आउनेबित्तिकै त्यसको साथमा हाँसो, खुशी, उमंग, भेटघाट, उल्लास, रमाइलो, मासु, रक्सी, जाँड, चङ्गा, छोयला, कचिला, भुटन, जुवा, तास, हाहा, हुहु आदि इत्यादि पनि हुल बाँधेर आउँछ । यो नै दशैँको विशेषता हो । 

दशैँको साथमा आउने यी जति पनि तत्व छन्, त्यसको संख्या यतिमै सीमित छैन । त्यो बढ्दै गइरहेको छ । पहिले पहिले दशैँ आएपछि त्यसको साथमा आउने यति मात्रै हो । अहिले दशैँ आएपछि त्यसको साथमा महँगी, तस्करी, कालोबजारी, अभाव, मिसावट, चोरी, लुटपाट, डकैती, हत्या, घुस, कमिशन, भीड, मारामार, लाइन, ठोकाठोक, हानथाप, दुर्घटना यी जम्मै पनि मिसिएर आउँछ । कहिलेकाहीँ त यी सँगै आउने तत्वहरूको भीड यति बढ्छ कि त्यो भीडमा दशैँ नै भेटाउन सकिँदैन । दशैँमा दशैँ गायब हुन्छ, यस्ता तत्व मात्रै बढी भेटिन्छ । 

कतै यसपालिको दशैँ पनि यस्तै त हुँदै छैन ? त्यस्तो नहोस्, दशैँमा दशैँ नहराओस् । शुभकामना !

टिप्पणीहरू