अविश्वस्त विश्वास

अविश्वस्त विश्वास

कोशी प्रदेशका नयाँ मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुभएको छ । उहाँ यो प्रदेशको यस्तो कांग्रेसी मुख्यमन्त्री हुनुहुन्छ जसलाई कांग्रेसको भन्दा पनि एमालेको विश्वास चाहिएको छ । मुख्यमन्त्री कांग्रेसको, विश्वास एमालेको ।

कांग्रेसमा उहाँलाई विश्वास गर्ने सांसद त जम्मा आठ जना मात्रै हो । तर, एमालेबाट यस्तासांसदको संख्या ३९ जना छ । यसैबाट थाहा हुन्छ, उहाँको पकड कांग्रेसमा भन्दा एमालेमा बढी रहेछ । राजनीतिमा दुर्ई र दुर्ई जोडेर चार हुँदैन भनिन्छ नि, त्यो भनेको यही हो । कांग्रेसी हुँदैमा कांग्रेसको मत लिएर एउटा कांग्रेसीले कांग्रेसको सरकार बनाउन सक्दैन । 

तर, अबको मतदानमा भने एमाले मात्र होइन कांग्रेसले पनि मत हाल्ने भन्ने कुरा आएको छ । कांग्रेसलाई पहिले आठ जना मात्रै कांग्रेस सांसदले मत दिएका थिए । अब जम्मैले दिने भए । कार्कीलाई कांग्रेसीहरूले पनि विश्वास गर्ने भएपछि उता एमालेको भने टाउको दुख्न थालेको छ । यो पनि अनौठै भन्नुपर्ला । एउटा कांग्रेसी मुख्यमन्त्रीलाई कांग्रेस सांसदहरूले विश्वासको मत हाल्ने भनेपछि एमालेलाई चिन्ता परेको छ ।

कांग्रेस मुख्यमन्त्री कार्कीलाई कांग्रेसले पनि विश्वास गरेपछि अब एमालेमा अविश्वास बढेको छ । जसलाई विश्वासको मत दिइँदै छ, त्यसप्रति नै एमाले अविश्वस्त छ । त्यसोभए एमालेले कस्तो मत दिँदै छ त ? अविश्वासपूर्ण विश्वासको मत ? राजनीतिमा यस्तो मत पनि हुँदो रहेछ !

टिप्पणीहरू