गठबन्धन नछोडे कांग्रेस समाप्त हुने एमाले महासचिवको दावी

गठबन्धन नछोडे कांग्रेस समाप्त हुने एमाले महासचिवको दावी

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई सरकारबाट बाहिरिन नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुझाव दिएका छन् ।

सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको दावी गर्दै उनले कांग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नुपर्ने धारणा राखे । 

 प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेकाहरुको शयनकक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डमाडोल भईसक्दा पनि कांग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् । 

उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको हितमा काम गर्न सक्ने अवस्थामा छैन । 

 ‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन सकेको छैन्’ पोखरेलको आरोप छ । 

सत्ता गठबन्धनबाट तत्काल बाहिरिन कांग्रेसलाई सुझाव दिएका उनले ढिलाई गरे गठबन्धनसँगै काँग्रेसको भविष्य समाप्त हुने दावी पनि गरे ।

‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ,’ पोखरेलले भने ।
 


 

टिप्पणीहरू