प्रभु पत्नी रिनाको पद जोगियो, निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा बदर
सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयले पदमुक्त भएकी रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
आज न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै यस्तो आदेश दिएको हो । सर्वोच्चको आदेशमा रिट निवेदेकलाई पूर्ववत जिम्मेवारीमा यथावत कामकारवाही गर्न दिनू भनि आयोगसँग लिखित जवाफ मागिएको छ ।
'निवेदिकालाई नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नु नगराउनु र निज निवेदिकालाई पूर्ववत् रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत् कामकारबाही गर्न दिनु भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा भनिएको छ ।
रिनाकुमारीले गत स्थानीय तहको निर्वाचनमा एमालेबाट मौलापुरको मेयर जितेकी थिइन् । तर, उनले सो पार्टी परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीको सदस्यता लिएको भन्दै एमालेको सिफारिसमा आयोगले पद रिक्त भएको सूचना सार्वजनिक गरेको थियो । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगको निर्णय थियो ।
रिनाकुमारी माओवादी हुँदै एमाले बनेका र हाल आम जनता पार्टीको अध्यक्ष रहेका प्रभु साहकी पत्नी हुन् ।
टिप्पणीहरू