राहतको कन्टेनरसहित विप्लव भूकम्प प्रभावित क्षेत्रमा
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एक करोड बराबरको राहत सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका छन् ।
खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधिलगायत राहत सामाग्री लोड गरेको कन्टेनरमा उनी आज साँझ भूकम्प प्रभावित क्षेत्रतर्फ निस्किएका हुन् । पीडितलाई राहत वितरण, प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण र विपत्तिमा परेका जनतासँग भेटघाटका लागि विप्लवसहितको टोली आज जाजरकोट प्रस्थान गरेको पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।
अन्य दलका उपल्लो तहका नेताहरू हेलिकोप्टरमा कर्णाली पुगिरहँदा नेकपाको टोली भने संकलित सामग्री कन्टेनरमा राखेर जाजरकोट, रुकुम र सल्यानका लागि निस्किएको हो । पार्टीको उपत्यका ब्यूरो, अखिल क्रान्तिकारी, गणतान्त्रिक खेलकुद महासंघ,अखिल नेपाल ट्रेड युनियन, जिल्ला समिति मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तुलगायतले उक्त सामाग्री संकलन गरेको हो ।
राहत सामाग्री हिजो राति केन्द्रीय कार्यलय शिवगढी पुर्याइएको थियो । पार्टीले उत्पादन गरेको थप चामलसमेत त्यसमा थपेर विप्लव आफैं राहत वितरणको नेतृत्व गर्न निस्किएका हुन् । नेकपाले दाङ,कैलाली,कञ्चनपुर,सुर्खेत,दैलेख,बर्दियालगायत जिल्लामा संकलित राहत सामग्री आज अबेरसम्म प्रभावित क्षेत्रमा पुगिसकेको पनि जनाएको छ ।
भोलि जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारीहरु, त्यहाँका जनप्रतिनिधि एवम् पार्टीका स्थानीय नेताहरूहरुसँगको सल्लाह तथा परामर्शअनुसार आवश्यकताका आधारमा राहत वितरण गरिने जनाइएको छ । राहत सामग्रीमा चामल, तेल, नुन, चिउरा, बिस्कुट साथै कम्मल, ब्ल्याङ्केट, डसना, त्रिपाल, ज्याकेट, जुत्ता, ट्रयाकसुट, औषधि, भाँडाकुँडालगायत छन् ।
महासचिव विप्लवको टोलीसँगै वरिष्ठ चिकित्सक टीका कँडेलको टिम पनि प्रभावित क्षेत्र पुग्दैछ । यस अगाडि नै घाइतेका उपचारका लागि विप्लव पुत्र डा. प्रकाश चन्द, पिताम्बर, मान्यता, नक्षत्रलगायतको टोली जाजरकोट पुगिसकेको छ ।
टिप्पणीहरू