तिहार देशलाई सांस्कृतिक र भावनात्मक एकताको सुत्रमा बाँध्ने आधार हो : प्रधानमन्त्री प्रचण्ड

तिहार देशलाई सांस्कृतिक र भावनात्मक एकताको सुत्रमा बाँध्ने आधार हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ । 

तिहारको उपलक्ष्यमा आज एक शुभकामना संदेश जारी गर्दै उहाँले सो धारणा राख्नुभएको हो । नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न महत्वपूर्ण आधार प्रदान गरेको पनि प्रधानमन्त्री प्रचण्डको भनाई छ । 

'नेपाली जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठूलो आधार प्रदान गरेको छ', प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, 'तसर्थ, परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ ।' 

 उहाँले तिहारलगायतका पर्वहरुले देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्न महत्वपूर्ण आधार प्रदान गरेको पनि उल्लेख गर्नुभएको छ । त्यस्तै, विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने सन्दर्भका रुपमा पनि प्रधानमन्त्री प्रचण्डले पर्वहरुको व्याख्या गर्नुभयो । 

पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित रहेको प्रधानमन्त्रीको बुझाई छ ।

'नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको छ । विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधारहरूसमेत हुन्', उहाँले भन्नुभएको छ ।

टिप्पणीहरू