मंसिर ७ गतेको प्रदर्शनको प्रतिवाद गर्न माधव नेपालको आह्वान
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी बिहीबार राजधानीमा हुन लागेको प्रदर्शनको प्रतिवाद गर्न आग्रह गर्नुभएको छ । उहाँले मुलुकमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई मानसिक र भौतिक रुपमा तयार रहन उल्लेख गर्नुभएको हो ।
पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी मुख्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त धारणा राख्नुभएको हो । आगामी ७ गते दुर्गा प्रसाईंको समूहले काठमाडौंमा बृहत जनप्रदर्शनको घोषणा गरेको छ । सोही दिन एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पनि राजधानीको माइतीघर केन्द्रीत आन्दोलनको घोषणा गरेको छ ।
प्रसाईंको आन्दोलनबारे उहाँले भन्नुभयो, ‘व्यवस्थामाथि नै चुनौति दिने कुरा स्वीकार्य छैन । संविधान र गणतन्त्रको पक्षमा हामी जनताको माझमा जान्छौं, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौं ।’ उहाँले जोड दिनुभयो, ‘फेरि पनि व्यवस्थामाथि चुनौति खडा भए हामी जनतामा जान्छौं ।’
एमालेले सोही दिन राखेको प्रदर्शनलाई उहाँले गलत भन्नुभएको छ । मंसिर ७ गतेको कार्यक्रमलाई मध्यनजर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसहितका अन्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल बोलाएको जानकारी पनि दिनुभएको छ ।
टिप्पणीहरू