मध्यरातमा सुतेको ठाउँबाट निकालिएकी महिला भन्छिन् : हातपातसँगै सिध्याइदिने धम्की दिए
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघका कार्यकर्ताबाट लखेटिएको भनिएकी एक महिलाले आफूमाथि हातपात भएको बताएकी छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा आफूलाई लघुवित्त पीडित बताउने ती महिलाले संघका नेता विनोद राईले लात्तीले हान्दै लछारपछार गरेको गुनासो गरेकी हुन् । १५÷१६ जनाको संख्यामा आएका युवासंघका कार्यकर्ताले तत्काल काठमाडौं नछोडे जहाँ भेट्यो त्यहीं सिध्याइदिने धम्की दिएको उनले बताइन् ।
आफूहरुले कपडा लगाउन समय माग्दा ’दुर्गेलाई फोन गर’ भन्दै धम्क्याएको उनको भनाई छ । ’दुई मिनेटमा बाहिर निस्की भनेर लात्तीले हान्दै घचेटेर निकाले’, उनले भनेकी छन् । आफूमाथि हातपात भएपछि प्रतिकार गरेको र अपशब्द नबोल्न आग्रह गरेको ती महिलाले बताइन् ।
आफूहरु सुतेको ठाउँबाट झोला बोकेर बाहिर निस्केपछि पनि घर फर्किन दबाब दिएको बताउँदै ती महिलाले भनिन्, ‘भोलि काठमाडौँमा अनुहार देखेँ भने सिध्याइदिन्छौँ भने । १५÷१६ जना थिए त्यसमध्ये विनोद राईले च्यालेञ्ज गरे । उहाँलाई हामीसँग के को रिस हो ?’
बाहिर प्रहरीको गाडी देखेपछि आफू कराएको र तत्काल प्रहरी आएपछि ‘पठाओका मान्छे हौँ’ भन्दै राईको समूह भागेको उनको भनाई छ ।
आफूहरु लघुवित्त पीडित भएकाले दुर्गा प्रसाईंको विचार मन परेर आन्दोलनमा सहभागी हुन आएको पनि उनले भिडियोमा उल्लेख गरेकी छन् । आज आफूलाई बाटोमा केही मान्छेले पछ्याएको भन्दै उनले महेश बस्नेत समूहले काठमाडौँ छोड्न धम्की दिइरहेको दुखेसो गरिन् ।
यसअघि भक्तपुरको एक पार्टी प्यालेसमा बसेका ती महिला मध्यराति सुत्ने तरखर गरिरहेका बेला प्रसाईंको कार्यक्रममा किन आएको ? भन्दै युवाहरुको समूहले लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनीहरुले महिलाहरुलाई धम्कीपूर्ण शैलीमा बाहिर निस्कन चेतावनी दिएको भिडियोमा सुनिन्छ ।
एकजना पुरुषले भनेका छन्, ‘दुर्गे प्रसादलाई फोन गर्नु भयो त ? युवा संघले लघार्यो भनेर ।’ उनैले फेरी प्रश्न गर्छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन ?’ महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गर्दै एकरात मात्रै बस्न दिन आग्रह गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
भिडियाे स्राेत : सामाजिक सञ्जाल ।
टिप्पणीहरू