श्री एअरलाइन्सको कारण कतारी विदेश राज्यमन्त्रीको उडानमा व्यवधान
धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण गरेका कारण दोहा उड्नुपर्ने कतार एअरवेजको उडान ढिलो भएको छ । क्युआर ६४७ बाट पौने ६ बजे उड्नुपर्ने उक्त फ्लाइट केही ढिलो हुन पुगेको बताइएको छ । सोही उडानमा नेपाल भ्रमणमा आएका कतारी विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखी स्वदेश फर्कन लागेका हुन् ।
श्री एअरलाइन्सको कल साइन २२५ एएनएफको विमान पौने ४ बजे धनगढीबाट उडेको थियो । ७४ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर आएको विमानमा एकाएक प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं विमानस्थल टावरसँग आपतकालीन अवतरणको अनुमति मागेर अवतरण भएको हो । विमानस्थलमा दमकल, एम्बुलेन्सलगायत आपतकालीन सुरक्षाका प्रबन्ध गरेपछि विमान साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
श्री एअरलाइन्सको उक्त विमानलाई अवतरणको प्राथमिकता दिँदा नयाँ दिल्ली र दोहाबाट काठमाडौं आइरहेका विमानहरु सिमरामाथिको आकाशमा होल्ड भएका थिए । नयाँ दिल्लीबाट भिस्तारा एअर र दोहाबाट कतार एअरवेजका विमान काठमाडौंमा अवतरण गर्ने क्रममा थिए ।
कतारको सोही विमान काठमाडौंमा पौने ५ बजे अवतरण भएको बताइन्छ । जबकी विमानको ४ बजेर २५ मीनेटमा अवतरण गर्ने समय तोकिएको थियो । हिजो नेपाल आएका विदेश राज्यमन्त्री सोल्तान आज फर्कन लागेका हुन् । चार सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो अपरान्ह उनी काठमाडौं आइपुगेका थिए ।
२४ घण्टा काठमाडौं बसाईको क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरेका छन् । टोलीमा मन्त्रालयका निर्देशक अब्दुलाजिज मोहम्मद अल हमादी, सेकेण्ड सेक्रेटरी मोहम्मद युसुफ अल मल्की र फतिमा मोहम्मद अल बेकर छन् ।
टिप्पणीहरू