भोलि पनि गौशालामा आन्दोलन गर्ने प्रसाईंको चेतावनी, पक्राउ परेका श्रीनिवास जनसेवामा
गेरुवस्त्रमा त्रिशूलसहित दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी भएपछि पक्राउ परेका श्रीनिवासलाई प्रहरीले प्रहरी वृत्त जनसेवामा राखेको छ । धर्मगुरु भनिएका आचार्य श्रीनिवासलाई साढे ४ बजे पक्रेर त्यहाँ पुर्याइएको हो ।
उनलाई प्रहरी नायव उपरीक्षक भवनकुमार भट्टराईको टोलीले जनसेवा पुर्याएको बताइएको छ । बिहिबारदेखि राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको आन्दोलनमा सहभागी भएपछि उनी पक्राउ परेका हुन् ।
गेरुवस्त्रमा त्रिशूलसहित आन्दोलनमा सहभागी भएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यता, साँझ आयोजित पत्रकार सम्मेलनमा प्रसार्ईंले गुरुहरुलाई आक्रमण भएकाले भोलि पनि गौशालामा आन्दोलन गर्ने बताएका छन् । उनले भने, ‘दुर्गा प्रसाईंको आन्दोलन कति पनि तुहिएको छैन । आन्दोलन रोकिँदैन । माइतीघरमा आन्दोलन गर्न नदिए चोक चोकमा आन्दोलन जारी रहने छ ।’
टिप्पणीहरू