एउटा हातले लाइसेन्स दिएर अर्कोले नोटको मुठो समातेको कर्मचारीहरुको आरोप

एउटा हातले लाइसेन्स दिएर अर्कोले नोटको मुठो समातेको कर्मचारीहरुको आरोप

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रियामा गम्भीर आर्थिक चलखेल भएको आरोप लगाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नियामक निकाय नेपाल धितोपत्र बोर्ड र केही व्यापारिक समूहबीच आर्थिक चलखेल भएको समाचारहरु बाहिरिएपछि नेप्से कर्मचारी संघले छानबिनको माग गरेको छ । 

धितोपत्र बोर्डका उच्च अधिकारी र व्यापारिक समूहबीच भएको आर्थिक मिलेमतोबारे आइरहेको समाचारका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा समेत नकारात्मक प्रभाव परेको उल्लेख गर्दै संघले छानबिनको माग गरेको हो ।

‘नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालनको लागि नयाँ स्टक एक्सचेञ्जलाई इजाजतपत्र दिने विषयमा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्व र विभिन्न व्यापारिक स्वार्थ समूहहरुबीच आर्थिक मिलेमतो रहेको भनि विभिन्न राष्ट्रिय स्तरका प्रतिष्ठित सञ्चारमाध्यमहरुमा निरन्तर समाचार प्रकाशित हुँदै आएको सर्वविदितै छ । जसका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा समेत नकारात्मक प्रभाव परेको...’, जारी विज्ञप्तिमा उल्लेख छ । 

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणलाई लिएर विभिन्न समाचार आउँदा पनि छानबिन नहुनुले मिलेमतो रहेको प्रष्ट भएको संघका अध्यक्ष नवराज थापाले बताए । विदेशी स्टक कम्पनीसँग सम्झौता गरेको हिमालयन स्टक एक्सचेञ्जलाई निर्णायक अंक दिन लागिएको उनको भनाई छ । 

उनका अनुसार बोर्डले नयाँ लाइसेन्सका लागि आवेदन आह्वान गरेको आठ दिनपछि २०७९ असोज १० गते हिमालयन स्टक एक्सचेन्जले मौरिससको कम्पनीसँग एमओयू गरेको हो । बोर्डले त्यसपछि हिमालयनलाई नै लाइसेन्स दिने गरी निर्देशिका तयार पारेको उनको आरोप छ । 

‘हिमालयन स्टक एक्सचेञ्जले मौरिससको कम्पनीसँग सम्झौता गरेका विषयहरु सार्वजनिक भइरहेका छन् । नेपालको इजाजतपत्र नै नभएको कम्पनीलाई कसरी निर्णायक अंक दिन लागियो ? यत्रो विषय बाहिर आइसक्यो, तर छानबिन भएको छैन । यहाँ बोर्डका पदाधिकारी, राजनीतिक पार्टीदेखि सांसदसम्मको मिलेमतो छ । लहरो तान्दा पहरो आउने डरले छानबिन नगरिएको हो’, उनले भने ।

टिप्पणीहरू