परराष्ट्रमन्त्री स्विट्जरल्याण्ड र आर्मेनिया जाँदै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आगामी साता स्विट्जरल्याण्ड र आर्मेनिया भ्रमणमा जान लाग्नुभएको छ । उहाँ मंसिर २५ र २६ गते जेनेभामा हुने मानव अधिकारसम्बन्धी गोष्ठी र २८ र २९ गते आर्मेनियामा आयोजना हुने ‘एलएलडीसीएस मिनिस्टेरियल मिटिङ) भाग लिन जान लाग्नुभएको हो । उहाँको भ्रमणलाई मन्त्रीपरिषद्को हिजो बसेको बैठकले स्वीकृति दिएको बताइएको छ ।
त्यसैगरी बैठकले सहसचिव रामप्रसाद पाण्डेको राजीनामा स्वीकृत, महिला तथा बालबालिका विभाग खारेज गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन संरचना र नयाँ दरबन्दी स्वीकृत गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले क्याबिनेटले गरेको १८ बुँदे निर्णयबारे जानकारी गराउँदै जर्मन सरकारबाट प्रस्तावित ३५ मिलियन युरो अनुदान, पोलिटेक्निक इन्स्टिच्युट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरेबिया सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर अनुदान र भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेण्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने जानकारी दिनुभएको छ ।
यस्तै, खानेपानी तथा सरसफाइ महशुुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम र सदस्यहरुमा यशोदा कार्की र कुलभूषण शेखर शर्मालाई नियुक्त गरिएको छ । सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।
टिप्पणीहरू