प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारद्वारा पद त्याग
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका उनले गत बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । तर, अहिलेसम्म स्वीकृत भने नभएको बताइएको छ ।
अघिल्लो वर्षको आमनिर्वाचनमा सिन्धुलीबाट चुनावी प्रतिस्पर्धा गर्न चाहेका गजुरेल टिकट नपाएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग रष्ट भएका थिए । असन्तुष्ट रहेका उनलाई प्रचण्डले सल्लाहकार बनाएर थामथुम पारिएको थियो ।
तर, जिम्मेवारी सम्हालेको वर्ष दिन नपुग्दै पद त्याग्ने उनको निर्णयलाई पुरानै असन्तुष्टिसँग गाँसेर पनि हेरिएको छ । तथापि गजुरेलले राजीनामा दिनुको कारणबारे केही खुलाएका छैनन् ।
टिप्पणीहरू