अमरेशले बार्गेनिङ गरेको बालुवाटारको दाबी, कानुनी उपचार खोज्न माननीयलाई ध्यानाकर्षण

अमरेशले बार्गेनिङ गरेको बालुवाटारको दाबी, कानुनी उपचार खोज्न माननीयलाई ध्यानाकर्षण

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँको परिवारका सदस्यसँग जोडेर स्वतन्त्र सांसदको भूमिकामा रहेका पूर्व नेपाली काँग्रेस नेता अमरेशकुमार सिंहका पछिल्ला अभिव्यक्तिप्रति प्रधानमन्त्रीको सचिवालयले मुख खोलेको छ । 

सांसद सिंहले हालैको एनसेल सेयर बिक्री प्रकरणमा प्रधानमन्त्री पुत्री गंगा दाहालको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका थिए । त्यसको खण्डन गर्दै सचिवालयले सिंहले अनेक बार्गेनिङ गरेको र त्यो पूरा नभएपछि मिथ्या आरोप लगाएको जिकिर गरेको छ ।  

‘मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्’, सचिवालयले भनेको छ, ’उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ ।’

सचिवालयले उक्त आरोपको भत्र्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । त्यस्तै, एनसेल बिक्री प्रकरणलाई सरकारले गम्भीरतापूर्वक लिई अध्ययन र छानबिनको प्रक्रिया अघि बढाइसकेको पनि दोहोर्याएको छ ।

’सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ । छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ’, बालुवाटारले भनेको छ ।

यो तथ्य आँखा अगाडि हुँदाहुँदै सांसद सिंहले कानुनी राज्यमाथि नै चुनौती दिनेगरी कपोलकल्पित आरोप लगाएको बताउँदै अगाडि भनिएको छ, ’अमरेश कुमार सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतः झुठ कपोलकल्पित र व्यक्तिको इज्जत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्याउने एवम् कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ ।’

यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलाबद्ध दुष्प्रचार गर्ने गरेको दाबी गर्दै सचिवालयले सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार रहेको बताएको छ ।  

सचिवालयले भनेको छ, ’हामीलाई विश्वास छ, छानविन समितिले निर्धारित समयमा काम गर्ने छ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन् ।’

टिप्पणीहरू