कोही पूर्व प्रधानमन्त्री शीतल निवास, कोही बालुवाटार

कोही पूर्व प्रधानमन्त्री शीतल निवास, कोही बालुवाटार

हिजो दिउँसो तीन जना पूर्व प्रधानमन्त्री बालुवाटार छिर्दा दुई जना पूर्व प्रधानमन्त्री बिहान शीतल निवास पुगेका छन् । दुबैतिरको भेटवार्तामा आगामी निर्वाचन र मुलुकको अवस्थाबारे छलफल भएको बुझिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । त्यसअघि बिहान शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व प्रधानमन्त्री तथा नेकपा सह संयोजक माधवकुमार नेपाल र झलनाथ खनालले चुनावकेन्द्रित भेटवार्ता गर्नुभयो ।

राष्ट्रपति पौडेल तोकिएको मितिमा चुनाव हुनैपर्नेमा रहनुभएको नेता नेपाल निकटस्थ स्रोतले बतायो । राष्ट्रपतिको भनाइ थियो, ‘निर्वाचनले सबैलाई एउटा लिकमा ल्याउँछ । यसका लागि सबै दलबीच साझा समझदारी हुनैपर्छ । मुलुकमा कुनै संकट आउन दिन हुँदैन ।’

यता प्रतिनिधिसभा पुनर्स्थापना हुने वा नहुने भन्ने आकलन चलेको बेला चुनावका लागि भारतले गाडीहरु उपलब्ध गराउन लागेको छ । उता अदालत स्रोतले प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना न्यून रहेको बतायो  ।

तर, राजनीतिक विश्लेषकहरु फागुन २१ गते चुनाव नहुने अवस्था उत्पन्न भएमा परिस्थिति अर्कै पनि हुनसक्ने आकलन गर्छन् । ‘एकाध दिनका लागि भए चुनाव परसर्न सक्ला । तर धेरै समयका लागि हो भने त्यतिबेला संसद पुनस्र्थापनाको विकल्प हुँदैन,’ काँग्रेसका एकजना नेताले भने ।

 

टिप्पणीहरू