भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको दोस्रो चरणको अभियान भोलिदेखि

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको दोस्रो चरणको अभियान भोलिदेखि

सत्तारुढ नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणको आवास निर्माण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसले भोलिदेखि आगामी पुस ६ गतेसम्म भूकम्प प्रभावितका लागि दोस्रो चरणको अस्थायी घर टहरा निर्माण गर्न लागेको हो । 

महामन्त्री गगन थापाको संयोजकत्वमा बिहीबार बसेको 'भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति'को बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । 

भूकम्पबाट बासस्थान गुमाएका प्रभावितहरुलाई एक हजार अस्थायी घर टहरा निर्माण गर्ने प्रतिबद्धताका साथ पहिलो चरणमा कात्तिक २२ गते महामन्त्रीद्धारा थापा र विश्वप्रकाश शर्मासहितको टोली जाजरकोट र रुकुम पश्चिम पुगेको थियो । उक्त अभियानमा पार्टीका केन्द्रीय सदस्य, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र अन्य सहयोगी तथा स्वयंसेवीहरुको सहभागिता रहेको जनाइएको छ । 

दोस्रो चरणको कार्यक्रममा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली रहने बताइएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दोस्रो चरणको अभियानमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली खटिनेछन् । 

त्यस्तै, लुम्बिनी प्रदेशका सबै जिल्ला, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिनेछ । घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी दिई सोहीअनुसार निःशुल्क रुपमा निर्माण कार्य सम्पन्न गर्ने मुख्यसचिव पौडेलको भनाइ छ ।

टिप्पणीहरू