शान्तिका निम्ति विश्व समुदायलाई प्रधानमन्त्रीको अपील
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, 'बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् । मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ ।'
उहाँले लुम्बिनीको पावन भूमिबाट विश्व समुदायलाई विशेष रुपले शान्तिका निम्ति अपील पनि गर्नुभयो । रामग्रामको विकासका निम्ति भएका कार्यक्रम मार्फत हुने प्रतिवद्धताले उक्त क्षेत्रको महत्व झन् बढेर गएको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आएको प्रसंग स्मरण गर्दै अगाडि भन्नुभयो, 'मैले राष्ट्रसंघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिवद्धता प्रस्तुत भयो ।'
टिप्पणीहरू