एमालेको कार्यक्रमअघि गिरफ्तार पहिचानवादीलाई तत्काल रिहाईको माग

एमालेको कार्यक्रमअघि गिरफ्तार पहिचानवादीलाई तत्काल रिहाईको माग
सुन्नुहोस्

कोशी प्रदेश नामांकनविरुद्ध लामो समयदेखि आन्दोलनमा रहेको पूर्वको पहिचानवादी समूहले आज गिरफ्तारमा परेका आफ्ना नेता–कार्यकर्तालाई तत्काल रिहाई गर्नुपर्ने माग अघि सारेको छ ।

प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समितिले खोटाङमा गिरफ्तार गरिएका पूर्वमन्त्री गोपाल किराँतीसहित सबैलाई बिना शर्त छाड्न माग गरेको हो । समातिएका सबैलाई अबिलम्ब रिहा नगरे अनिश्चितकालीन प्रदेश बन्द गर्ने उसको चेतावनी छ । 

मेची–महाकाली यात्रामा रहेको नेकपा एमालेको टोलीलाई सुरक्षा दिन प्रहरीले आज किराँतीसहित नौ जनालाई गिरफ्तार गरेको थियो । जसपा नेता राजेश राई, समितिको हलेसी तुवाचुङ युवा सहसंयोजक गन्धमान राई, विजय राई, उदिम राई खोटाङबाट गिरफ्तारमा परेको जनाइएको छ । 

त्यस्तै, त्यस्तै, किरात राई याक्थुङ्गा भोजपुरका अध्यक्ष बिदुर राई, जसपा प्रदेश सदस्य मीना राई, जिल्ला सदस्य दिनेश राई र पनन राई भोजपुरबाट समातिएका हुन् । 

पहिचानका आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने माग राख्दै आएका पहिचानवादीहरुले प्रदेशसभाबाट कोशी नाम पारित गर्न हस्ताक्षर गरेका सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउनेदेखि सरकारी कार्यालयमा ’कोशी प्रदेश’ लेखिएको साइनबोर्ड हटाउनेसम्मका गतिविधि गरिरहेका छन् । पहिचानको आन्दोलनप्रति बढी अनुदार रहेको आरोप लागेका एमाले नेताहरु आन्दोलनकारीको निशानामा परेका हुन् ।

सोही कारण एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा कोशीमा प्रवेश गरेपछि पहिचान पक्षधर समूहले घुर्मीदेखि लेगुवाघाटसम्म बन्दको आह्वान गरेका थिए । त्यसक्रममा सम्भावित मुठभेडको अवस्थालाई ख्याल गर्दै प्रशासनले पहिचानवादीहरुलाई नियन्त्रणमा लिएको हो ।

शान्तिपूर्ण बन्दको कार्यक्रम सफल बनाउने क्रममा आफ्ना नेताहरुलाई प्रशासनले बलपूर्वक समातेको संघर्ष समितिको आरोप छ ।

टिप्पणीहरू