लण्डनमा रविसँग माओवादी नेताको 'आकस्मिक' भेट,अनेक आशंका

लण्डनमा रविसँग माओवादी नेताको 'आकस्मिक' भेट,अनेक आशंका
सुन्नुहोस्

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काएर रोजगार बनाउने एजेण्डामा राजनीति गरिरहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले संगठन विस्तार र चन्दा संकलनका लागि बेलायतमा छन् । 

काठमाडौंबाट श्रीमतीसहित मलेसिया पुगेका उनी त्यतैबाट बेलायत गएका थिए । पार्टीको संगठन निर्माण, सडक उद्घाटनलगायतका कार्यक्रम लिएर त्यता पुगेका उनी विभिन्न भेटघाटमा व्यस्त छन् । 

यसै क्रममा उनको एउटा भेटलाई लिएर अनेकथरी आशंका गर्न थालिएको छ । कोशी प्रदेशको पूर्वयोजना आयोगका उपाध्यक्ष पूर्ण लोक्समसंग उनको भेटलाई लिएर माओवादी वृत्त आशंकित भएको छ । 'नयाँ'को हावा हुण्डरी चलिरहेका बेला कफी सपमा भएको व्यवस्थित भेटघाटलाई 'अकस्मात भेट' भनेर फेसबुकमा हालिएपछि बेलायत बस्ने माओवादी कार्यकर्ताले शंका गरेका हुन् । 

लण्डनको एक युनिभर्सिटीमा अर्थशास्त्रको प्राध्यापक रहेका लोक्सम राजेन्द्र राई मुख्यमन्त्री भएका बेला योजना आयोगको उपाध्यक्ष भएका थिए । त्यसअघि सदस्य थिए । प्रधानमन्त्री/मुख्यमन्त्री जुन दलको छ,सोही पार्टी निकटलाई उपाध्यक्ष बनाउने प्रचलन रहीआए पनि बेलायतबाट फर्किएका उनलाई एकीकृत समाजवादी नेतृत्वको सरकारले उक्त जिम्मेवारी दिएको थियो । 

हाल एमाले उपाध्यक्ष रहेका रामबहादुर थापा बादल निकट मानिने उनी अहिले बेलायतमै छन् । उनले कफीसपभित्र रविसँग खिचेको फोटो फेसबुकमा शेयर गर्दै 'पूर्वउपप्रधान / गृहमन्त्री तथा सांसद रवि लामिछानेज्यूसँग अकस्मात जम्काभेट !' लेखेका छन् ।
 

टिप्पणीहरू