यस्ता छन् एमालेका नवप्रवेशी पूर्वमाओवादीहरु

यस्ता छन् एमालेका नवप्रवेशी  पूर्वमाओवादीहरु
सुन्नुहोस्

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका धेरै जनाले गत साता आफ्नो जिम्मेवारीबाट राजीनामा दिए । आन्तरिक असन्तुष्टि चुलिएपछि उनीहरुले राजीनामा दिएको बताइन्छ । मंसिर ८ र ९ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेको कार्य विभाजनमा असन्तुष्टहरुले धमाधम राजीनामा दिएका हुन् ।

नवौं राष्ट्रिय महाधिवेशनबाट बैतडीको भूगोलअन्तर्गत निर्वाचित केन्द्रीय कमिटी सदस्य लोकेन्द्र भण्डारीले गत साता अध्यक्ष क्षितिज थेबेलाई सम्बोधन गरेर राजीनामा बुझाए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता हुँदा संगठनको केन्द्रीय सदस्यमा मनोनित भएर युवासंघको विभिन्न भूमिकामा रहिसकेका उनले कार्य विभाजनप्रति चर्को असन्तुष्टि जनाउँदै संगठन त्यागेका हुन् । हालैको कार्य विभाजन नितान्त पूर्वाग्रही भएकोसमेत उनले आरोप लगाउँदै आएका छन् ।

एमाले निर्वाचन आयोगको उपप्रमुख पदमा कार्यरत तथा युवासंघको विभिन्न कमिटीमा बसेर काम गरिसकेका रामबहादुर छत्कुली (बाबु) ले पनि राजीनामा दिए । उनले युवासंघको कुनै पनि कमिटी तथा पदमा नरहने घोषणा गर्दै आफ्नो सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जानकारी गराएका छन् । 

त्यसपछि रोशन लामा (गौरव),रामकाजी बान्तवा,ज्ञानु दाहाल, वीरेन्द्र भट्ट,विष्णु पोखरेल,प्रज्वलप्रताप सापकोटालगायतले पनि संघ छाडे । धेरैले राजीनामा नलेखे पनि युवासंघ छाडेको स्रोतको दाबी छ । 

त्यस्तै युवासंघका केन्द्रीय समिति सदस्य प्रज्वल खड्काले पनि गत शनिबार राजीनामा दिएका छन् । उनले राजीनामामा विशेष कारण देखाएका छन् ।

तीमध्येका एक जना रोशन लामा (गौरव) ले युवासंघको नेतृत्वको हैसियतमा मंसिर २१ गते गरेको मेसेञ्जरमा आफूले राजीनामा दिइसकेको बताएको देखिन्छ । लामाले लेखेका छन्, ‘राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय कमिटीबाट लिखितम राजीनामा पेश गर्नेछु । धन्यवाद ।’

 

टिप्पणीहरू