अदालतको फैसलाले स्तब्ध भएका महन्थ ठाकुर इन्साफका लागि अघि बढ्ने

अदालतको फैसलाले स्तब्ध भएका महन्थ ठाकुर इन्साफका लागि अघि बढ्ने
सुन्नुहोस्

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट हिजो भएको फैसलाप्रति असहमति जनाएको छ । 

अध्यक्ष महन्थ ठाकुरले आज विज्ञप्ति जारी गर्दै लोसपा मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला सुनाउने जिल्ला अदालतको निर्णयप्रति बिमति जनाएका हुन् । आदालतको आदेशले आफू स्तब्ध भएको ठाकुरको विज्ञप्तिमा उल्लेख छ । 

राजनीतिक अधिकार प्राप्तिको संघर्षमा लाखौं जनता सडकमा उत्रिँदा कसैको मृत्यु हुनु दुःखद घटना भएपनि तथ्य एंव वास्तविकताभन्दा फरक ढंगले निर्दोष व्यक्तिलाई राजनीतिक पूर्वाग्रहको आधारमा फसाइएको विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘न्यायालयप्रति उच्च सम्मान प्रकट गर्दै महोत्तरी जिल्ला अदालतको उक्त फैसलाप्रति हाम्रो गम्भिर असहमति रहेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षमा लाखौं जनता सडकमा उर्लेको सन्दर्भमा कसैको मृत्यु हुनु एउटा दुःखद घटना हो नै तर तथ्य एंव वास्तविकताभन्दा बिल्कुलै फरक ढंगले निर्दोष व्यक्तिहरुलाई समेत राजनीतिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानित अदालतबाट जन्मकैदसम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएका छौं ।’

विद्यमान कानून तथा न्यायिक प्रक्रियालाई आधार मानेर न्याय एंव इन्साफको लागि अघि बढ्ने लोसपाले जनाएको छ । यस प्रकरणमा मुछिएका एमालेका सांसद लक्ष्मी महतो कोइरीसहित दुई जनालाई भने अदालतले सफाइ दिएको छ । लोसपा नेता शर्मासहित सात जनालाई भने जन्मकैदको सजाय सुनाएको हो ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकलाई आन्दोलकारीहरुले लखेटीलखेटी हत्या गरेका थिए ।

टिप्पणीहरू