राजा फर्काउने आन्दोलनका लागि पार्टी प्यालेसमा पूर्वपञ्चहरुको छलफल

राजा फर्काउने आन्दोलनका लागि पार्टी प्यालेसमा पूर्वपञ्चहरुको छलफल
सुन्नुहोस्

राजसंस्था पुनर्स्थापनाका लागि सडक संघर्षको तयारीमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । धुम्बाराहीस्थित एसआर पार्टी प्यालेसमा आज बिहान १० बजेदेखि शुरु भएको बैठक अहिले जारी छ । 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशाबारे नेताहरुलाई ब्रिफिङ् गरेका छन् । उनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको टिप्पणी गरेका छन् ।

त्यस्तै, महामन्त्री डा.धवलशम्सेर राणाले बृहद आन्दोलनसम्बन्धी कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालयबारे प्रतिवेदन पेश गरेका छन् ।अहिले प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको प्रतिवेदन पेश गरिरहेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जवरा, उपाध्यक्षहरु बुद्धिमान तामाङ, रविन्द्र मिश्र, विक्रम पाण्डे, हेमजङ्ग गुरुङ, महामन्त्री डा.धवलशम्सेर राणा, राजेन्द्र गुरुङ, भुवन पाठक, कुन्ति कुमारी शाही, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत सबैजसो पदाधिकारी र केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । 

बैठक पर्सिसम्म चल्नेछ ।

टिप्पणीहरू