झुलाघाटमा गाडी, चिवा भञ्ज्याङमा हेलिकोप्टर
बैतडीको झुलाघाटबाट शुरु भएको नेकपा एमालेको संकल्प यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर सम्पन्न भएको छ ।
आज फिदिमबाट हेलिकोप्टरमा चिवा भञ्ज्याङ पुग्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भारतसँग सीमा जोडिएको चिवामा नेपालको राष्ट्रिय झण्डा फहराएसँगै यात्रा टुंगिएको हो । अब आमसभा गरेर यात्राको औपचारिक समापन गरिने बताइएको छ ।
एमालेले ’सम्बन्ध स्थानीय, संदेश राष्ट्रिय’ नारा दिएर मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको यात्रा थालेको थियो । मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत सम्भावना बुझ्न थालिएको संकल्प यात्रामा अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरु सहभागी भएका छन् ।
यात्राका क्रममा कतै पैदल हिँडेका एमाले नेताहरुले कहिँ गाडीको प्रयोग गरेका थिए । तर,आज अन्तिम दिन भने उनीहरुले हेलिकोप्टर चढे । फिदिमबाट चिवा भञ्ज्याङ जान एमाले टोलीले काठमाडौँबाट सैनिक हेलिकोप्टर मगाएको थियो ।
बिहान त्यता गएको एनए ०५४ एएलएच हेलिकोप्टर एमाले नेताहरुलाई लिएर अपरान्ह काठमाडौँ फर्किने बताइएको छ ।
टिप्पणीहरू