राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनको निम्ति १२ दल दर्ता भएका छन् । ती दललाई २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
जसअनुसार पहिलो नम्बरमा नेकपा एमाले (सूर्य) रहेको छ भने दोस्रोमा नेपाली कांग्रेस (रुख) रहेको छ । तेस्रोमा नेकपा माओवादी केन्द्र (गोलाकारभित्र हँसिया हथौडा), चौथोंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो), पाचौंमा जनता समाजवादी पार्टी नेपाल (ढल्केको छाता), छैटौंमा जनमत पार्टी (लाउट स्पिकर) रहेको छ ।
त्यस्तै, सातौंमा नेकपा एकीकृत समाजवादी (कलम), आठौंमा नागरिक उन्मुक्ति पार्टी (पिधैं भएको सादा ढकिया), नवौंमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (साइकल), दशौंमा नेपाल मजदुर किसान पार्टी (मादल), ११ औंमा राष्ट्रिय जनमोर्चा (गिलास) र १२ औंमा नेपाल समाजवादी पार्टी (खुलेको एक आँखा) रहेको आयोगले जनाएको छ ।
टिप्पणीहरू