विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा समाजवादी मोर्चाको आपत्ति
सत्तारुढ दलहरु आवद्ध समाजवादी मोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ ।
मोर्चाका संयोजक एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतको उक्त आदेशप्रति मोर्चाको ध्यानाकर्षण भएको उल्लेख छ ।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र विप्लवबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण कार्यान्वयन सरकार र सम्बद्ध पक्षलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं ।’
नेपाल सरकार वादी र हेमन्तप्रकाश ओली प्रतिवादी रहेको राज्यविरुद्धको कसुर अपराधमा विप्लवसहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले गत मंसिर १८ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीहरुविरुद्ध सरकारले २०७६ असोज ९ गते राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो । पक्राउ पुर्जी जारी भएकोमा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की र उपत्यका ब्युरो इञ्चार्ज माइला लामा छन् ।
टिप्पणीहरू