राजा फर्काउन राप्रपा सडकमा ओर्लने, आन्दोलनको नेतृत्व लिङ्गदेनले गर्ने

सुन्नुहोस्

पूर्वपञ्चहरुको पार्टी राप्रपाले राजा फर्काउन आन्दोलन गर्ने भएको छ । आज सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले राजसंस्थासहितको हिन्दुराष्ट्र पुर्नस्थापना र प्रदेश खारेजीका लागि जनदबाब सृजना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरेको हो । 

तीनदिने बैठकले गरेका निर्णयबारे जानकारी दिन जारी गरिएको वक्तव्यमा चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । जसअन्तर्गत पुस र माघ महिनामा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गर्ने जनाइएको छ । त्यस्तै, फागुनमा मेची–महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने राप्रपाको निर्णय छ । 

आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियन्ता तथा धार्मिक संघसंगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवीलगायत सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन बैठकले आह्वान पनि गरेको छ । 

बैठकले अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलन मूल समितिसहित चारवटा समिति पनि गठन गरेको छ । उक्त  समितिमा केन्द्रिय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रिय सदस्य तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहने जनाइएको छ । 

यस्तै, महामन्त्री डा.धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ भने कोषाध्यक्ष निमकण्ठ काफ्रलेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको हो । 

प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिनुका साथै आवश्यकताअनुसार अन्य समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

टिप्पणीहरू