एकीकृत समाजवादीले तत्काल जिल्ला अधिवेशन नगर्ने

एकीकृत समाजवादीले तत्काल जिल्ला अधिवेशन नगर्ने

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

आलोकनगरस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले यसअघि नै तोकिएको जिल्ला अधिवेशन तत्काललाई रोक्ने निर्णय लिएको हो । महाधिवेशनको तयारीलाई हेरेर जिल्ला अधिवेशनहरु स्थगित गर्ने निर्णय गरिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै अर्को मिति तोक्ने गरी सबै अधिवेशनहरू स्थगित गरिएको हो । श्रेष्ठले महाधिवेनमा कसरी नेतृत्व चयन गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए । 

एकीकृत समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय यसअगि नै गरिसकेको छ । त्यसअघि सबै तहको अधिवेशन गर्ने तयारी छ । सोहीबमोजिम कतिपय जिल्लाहरूले अधिवेशनको तयारी गरिरहेको र कतिले मिति तोकिसकेको अवस्था छ ।

टिप्पणीहरू