एमाले सांसदले ‘सुण्ड मुसुण्ड’ भनेपछि गगन थापाको आक्रोश
एनसेलको शेयर खरिदबिक्री प्रकरणलाई लिएर संघीय संसदका दुई समितिबीच लफडा चर्किएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर एनसेलमा भएको घोटालाबारे हिजो जवाफ मागेको थियो । समिति बैठकमा प्रधानमन्त्रीले एनसेलको शेयर खरिदबिक्री प्रक्रिया स्वाभाविक नभएको र यसलाई सरकारले गम्भीरताका साथ लिएको बताउनुभएको थियो । साथै, तत्काल छानबिन प्रक्रिया अघि बढाएको पनि उहाँले प्रष्ट पार्नुभएको थियो ।
प्रधानमन्त्रीको जवाफ र छलफलपछि समितिले एनसेललाई सरकारको स्वामित्वमा ल्याउन गरी कानुन परिमार्जन गर्न निर्देशन दिएको हो । छानबिन समितिको प्रतिवेदनलाई समेत आधार मानेर एनसेलले कानुनबमोजिम बुझाउनुपर्ने कर तथा गैरकर रकम असुल गर्न पनि समितिले प्रधानमन्त्री कार्यालय, अर्थ, सञ्चार र उद्योग मन्त्रालयलाई निर्देश गरेको छ ।
तर, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राज्य व्यवस्था समितिले गरेको निर्णयप्रति गम्भीर असन्तुष्टी जनाउँदै आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।
एनसेलमा भएको भ्रष्टाचारबारे लेखा समितिले गरेको निर्णयलाई कमजोर बनाउन खोजेको भन्दै उनले तल्लोस्तरमा झरेर फेसबुकमा लेखेका छन्, ‘सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोड बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपील गर्दछु ।’
एउटा समितिले अर्को समितिको कुरा काटेको भन्दै पोखरेलको उक्त अभिव्यक्तिप्रति नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आपत्ति जनाएका छन् । उनले यस विषयमा गम्भीर ढंगले कुरा उठाउनुपर्ने समेत बताए ।
‘हिजो एनसेल सम्बन्धी बैठकलाई सार्वजनिक लेखा समितिका सभापतिले सुन्डमुन्ड र सरकारले अह्राएर गरेको भन्नुभएको रहेछ’, थापाले भने, ’एउटा समितिले अर्को समितिले कुरा काट्दै जाने हो भने संसद्को गरिमा के होला ? यस विषयमा गम्भीर रूपमा कुरा उठाउनै पर्छ ।’
टिप्पणीहरू