राजेन्द्र लिङ्गदेनले केपी ओलीको संगत नछोडेसम्म दुर्गा प्रसाईं अलग्गै
राजावादी अभियन्ता दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
राजा फर्काउन सडक संघर्षको तयारीमा रहेका प्रसाईंले आन्दोलन घोषणा गरेको अर्को राजावादी पार्टीसँग सहकार्य नगर्ने प्रष्ट पारेका हुन् । गृहजिल्ला झापाबाट आज दिउँसो काठमाडौँ आएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, 'अहिलेकै अवस्थामा राप्रपासँग सहकार्य हुँदैन ।'
तपाईंलाई राप्रपाको साथ छ कि छैन भन्ने पत्रकारको प्रश्नमा प्रसाईंले भने, 'केपी ओलीको संगत छोड्नुपर्यो राजेन्द्र लिङ्देनले । उहाँ मेरो दाइ हो वल्लो घर पल्लो घरको, उहाँले केपी जस्ता भ्रष्ट नेताको संगत छोडेर सांसदबाट राजीनामा दिएर आउनु हुन्छ भने स्वागत छ ।'
प्रसाईंले आफू आफ्नै हस्पिटलबाट उपचार गरेर फर्किएको र अब निर्णायक आन्दोलन गर्ने पनि बताए । 'म झापा गएर आफ्नै हस्पिटलमा उपचार गरी फर्केर आएँ । तपाईंहरु सबैले क्लियर रुपमा बुझ्ने कुरा के हो भने टाइगर अभि जिन्दा है', उनले भने 'अहिलेका भ्रष्ट नेताहरु खुशी भएको सुनेको थिएँ,अब बाघ गुफाबाट निस्केर आएको छ । "
प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाऊ अभियानले मङ्सिर ७ गतेदेखि एक हप्तासम्म राजतन्त्र पुनस्थापना र बैंकको ऋण मिनाह गराउने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो । लघुवित्त संस्थाहरुबाट ऋण लिएर तिर्न नसकेका तराई-मधेसका महिला तथा गरिब परिवारका सदस्यलाई ऋण मिनाहाको आश्वासनमा राजधानीमा उतारेर गरिएको आन्दोलन एक हप्तामै फासफुस भएपछि उनी घाँटीको अप्रेशन गर्ने भन्दै झापा फर्किएका थिए ।
सो समूहले आगामी फागुन १ गते राजा फर्किएको घोषणा गर्दै समानान्तर सत्ता चलाउने घोषणा गरेको छ । फागुन १ गते जनयुध्द दिवसलाई चुनौती दिन त्यही दिन आन्दोलनको कार्यक्रम राखेको प्रसाईंले बताए ।
टिप्पणीहरू