भन्सार विभाग घेर्न पुगेका प्रभुका कार्यकर्ताद्वारा अर्थमन्त्रीको राजीनामा माग
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को भातृ संगठन आम सम्पर्क मञ्चले आज पनि भन्सार विभाग घेराउ गरेको छ ।
भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत 'कथित पुरस्कारको लुटकारी' प्रावधान हटाउन माग गर्दै केही दिनदेखि विभागआगाडि धर्ना दिँदै आएको मञ्चले आज पनि त्यसलाई निरन्तरता दिएको हो । त्यसक्रममा आन्दोलनकारीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्दै आफ्नो माग पूरा नभएसम्म पछि नहट्ने चेतावनी दिएका छन् ।
झण्डै चार महिना अघिबाट शुरु गरिएको पहिलो चरणको आन्दोलनबाट माग सम्बोधन नभएपछि दोस्रो चरणको आन्दोलन शुरु गरेको सो संगठनले विगत ६ दिनदेखि विभागको कार्यालयबाहिर आन्दोलन गरिरहेको छ ।
मञ्चले ‘भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउने’,‘कर कानुन, राजश्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउने’,‘भन्सारबाट उठेको राजस्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्ने’,‘घरायसी प्रयोजनको लागि ल्याइने उपभोगको वस्तुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्ने’, लगायतका माग राख्दै आएको छ ।
आम नेपाली जनतासँग जोडिएको विषय तत्काल सुनुवाई नभएमा आन्दोलनलाई थप कडा बनाउने मञ्चको चेतावनी छ ।
टिप्पणीहरू